झापा । कचनकवल गाउँपालिका २ पथरिया, पुरानो बजार स्थित राजन यादवको विद्युतीय उपकरणको दोकानमा चोरी भएको छ।

शुक्रबार राति १२ बजेदेखि बिहान ८ बजे बीचमा करिब ३ लाख नेपाली रुपैयाँबराबरको चोरी भएको पीडित यादवले बताएका छन् ।

पीडित यादवका अनुसार उनको सटरको चावी फुटाइ दुई वटा ल्यापटप, २२ थान मोबाइल, करिब ६० हजार बराबरको घडी, २० हजार बराबरको मोबाइल ब्याट्री, चार्जर अन्य टर्च लगायतका विद्युतीय उपकरण साथै नगद १६ हजार चोरी भएको हो।

यस गाउँपालिकामा बिगत केही सातादेखि चोरीका घटना बढ्न थालेका छन्, केही साताअघि घेराबारीमा एक हल राँगासहित भैंसी पनि चोरी भएको थियो । चोरी भएको भैंसी भारत नेपाल सीमा क्षेत्रबाट फिर्ता ल्याइएको थियो।

घेराबारीमा नै चोरी गर्ने क्रममा होहल्ला गर्दा भाग्ने क्रममा भारतीय चोर पनि समातिएको थियो । उनीहरुलाइ भारतीय प्रहरीको जिम्मा लगाइएको थियो। त्यसअघि वडा नं ६ डुबडुबीमा पनि बस्तुभाउ चोरी भएको थियो।

पर्याप्त सुरक्षाकर्मी नहुनु, मानिसमा कोरोना त्रास उत्तिकै बढिरहेको यो अवस्थामा चोरीको घटना दिनानुदिन थपिनुले स्थानीय चिन्तित भएको स्थानीयबासी पवन कुमार लामिछानेले बताए ।