काँकडभिट्टा । सीमामा पहरा दिएर बसेका नेपाली सुरक्षाकर्मीलाई हावा–पानीको भन्दा भारतीयले पटकपटक गर्ने आक्रमणको डर ज्यादा छ । त्यसमाथि अब अर्को पनि थपिएको छ, हात्तीको डर ।

नेपालको पूर्वी सीमानामा पहरा दिएर बसेका सुरक्षाकर्मीलाई हात्तीको डर छ । केही दिन अघि राति मेची तरेर नेपालतिर आउन लागेको हात्तीको झुन्ड देखेर मेची किनारामै खटिएका एक सुरक्षाकर्मी छक्क परे । उनले त्यत्रो संख्यामा अहिलेसम्म हात्ती देखेकै रहेनछन् । भने, ‘हात्तीको समूह झन्डै मेची तरेर आयो । स्थानीयवासीको सहयोगमा लखेटियो ।’

अहिले मकै पाक्ने समय हो । यतिबेला हात्तीहरु आहाराको खोजीमा भारतबाट नेपाल छिर्ने गरेका छन् । जसको सबैभन्दा धेरै डर सुरक्षाकर्मीलाई छ । कोरोना रोक्न सीमाका पहरेदार बसेका उनीहरुको बसाइँ ज्यादै कष्टकर छ । सामान्य पालको भरमा बस्नु परेको छ । ‘हात्तीले आक्रमण गरी हाल्यो भने भाग्न सक्ने अवस्था पनि छैन’, बाहुनडाँगी क्षेत्रमा खटिएका एक सुरक्षाकंर्मीले भने, ‘हामीलाई कोरोनाभन्दा पनि हात्तीको डर धेरै छ ।’

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले हात्ती आउने मुख्य बाटो (गौंडा)मै सुरक्षाकर्मीका अस्थायी क्याम्पहरु भएको बताए । जसका कारण पनि हात्तीको डर धेरै छ । सुरक्षाकर्मी निदाएको मौकामा आक्रमणको सम्भावना पनि छ ।

‘हात्ती हिँड्ने बाटोमै क्याम्पहरु छन्, सुरक्षाकर्मीलाई कतिबेला आक्रमण गर्ने हो थाहा छैन,’ डीएसपी पोख्रेल भन्छन् । स्थानीयवासीका अनुसार दैनिकजसो हात्ती आइरहेको छ । आइतबार राति समेत मेची खोला नजिकै हात्ती आएको थियो । तर, सुरक्षाकर्मीले थाहा पाएर लखेटेका थिए । कान्तिपुरबाट