पोखरा । गण्डकी प्रदेशको पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी स्याङ्जामा पनि ५ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पर्वतको फलेबास नगरपालिका ठेगना भइ सदरमुकाम कुश्मास्थित क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका दुई पुरुष र पर्वतकै महाशीला गाउँपालिका घर भइ कुश्माकै क्वारेन्टाइनमा राखिएका १९, २० र २१ वर्षका ३ पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै हालैमात्र भारतबाट फर्किएका हुन् ।

यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका घर भई स्थानीय क्वारेन्टाइनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ । साथै स्याङजाकै बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो । उनी पनि क्वारेन्टाइनमा थिए । संक्रमित दशै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले बताए ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।