देवी क्याम्पसमा राहत वितरणका लागि तयारी गरिँदै ।

बिर्तामोड । कोरोनाका कारण भएको लक डाउनले कामविहीन भएका मजदुरलाई नयाँ चाहना समूहले राहत वितरण गरेको छ । समूहले विपन्न समुदायका करिव २ सय परिवारलाई आइतबार बिर्तामोडमा राहत वितरण गरेको हो ।

समुहले बिर्तामोड क्षेत्रभित्रका दैनिक ज्यालादारी काम गरी जीविका चलाउँदै आएका विपन्न परिवारलाई राहत सामग्री प्रदान गरेको समूहका सचिव मदन राईले जानकारी दिए । नागरिकताविहीन र स्थानीय तहले दुई पटकसम्म वितरण गरेको राहतबाट बञ्चितहरुलाई समुहले सहयोग गरेको उनले बताए ।

‘लकडाउन तत्काल खुल्ने स्थिति देखिंदैन’, राईले भने, ‘वडामा पहुँच नपुग्ने, बोल्न नसक्ने बास्तविक पीडित राहतबाट बञ्चित भएकाले त्यस्ताको पहिचान गरी समूहले आफ्ना स्थानीय साथीभाई र दाताहरुबाट सहयोग जुटाएर सहयोग गरेको हो ।’

समुहका अध्यक्ष रोजित गुरुङले अत्यन्त दयनीय अवस्थाका मजदुर परिवारलाई स्थानीय तहको समन्वयमा राहत वितरण गरिएको बताए । आइतबार बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयको प्राङगणमा बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, वडा सदस्य डिआर कडरिया लगायतको उपस्थितिमा राहत वितरण गरिएको छ ।

समूहले खाने तेल आधालिटर, दाल सात सय पचास ग्राम, नुन १ केजी, आलु ८ सय ग्राम, टमाटर ८ सय ग्राम, प्याज ७ सय ५० ग्राम, सेनीटाइजर १ पीस, मास्क छ थान, डिटल साबुन २ थान, चामल १० केजीका दरले दुई सय परिवारलाई बितरण गरेको हो ।

संस्थाका अध्यक्ष रोजित गुरुङ, उपाध्यक्ष निर्मलराज खत्री, सचिव मदन राई, कोषाध्यक्ष सुरज शेर्पा लगायतले संयुक्त रुपमा राहत बितरण गरेका थिए ।

बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले कोरोनाका कारण थलिएको अवस्थामा राज्य संयन्त्रले मात्र सबै काम गर्न नसक्ने भएकाले बिभिन्न संघ संस्थाको सहयोग आवश्यक रहेको बताए ।

समूहले स्थानीय तहसँगको सहकार्य र समन्वयमा राहत बितरण गरेको प्रति आभार प्रकट गरे । उनले स्थानीय तहले वितरण गरेको राहत भन्दा पनि व्यवस्थित तबरबाट काम गरेको भन्दै समूहको प्रशंसा गरेका छन् ।