काठमाडौँ । सरकारले लकडाउनको एक सय दिनपछि असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईबीच आइतबार प्राधिकरणमा भएको बैठकमा असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति भएको हो ।

‘पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको छ,’ बैठकमा सहभागी स्रोतले भन्यो, ‘पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने छ ।’

साउनमै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुचारु गरिने स्रोतले बताएको छ । ‘पहिले सातवटा मुलुकबाट अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने कुरा भएको छ,’ स्रोतले भन्यो, ‘आन्तरिक उडानमा कोरोना महामारी फैलिएका हटस्पटमा भने उडान हुने छैन ।’

बुद्ध एयरका निर्देशक रुपेश जोशीले प्राधिकरण र व्यवसायीहरुबीचको छलफलपछि आफ्नो कम्पनीले टिकट बुकिङ खुला गर्न लागेको बताए । ‘सरकारको निर्णय एक दुई दिनमा आउला,’ निर्देशक जोशीले भने, ‘पहिलो चरणमा पहाडी उडान खुला गरिने भएकाले हामीले सुर्खेत, पोखरा र तुम्लिङटारको बुकिङ आजबाट खोल्दैछौं ।’

प्राधिकरण र व्यवसायीहरुबीच उडान खोल्नेबारे आइतबार बैठक डाकिएको थियो । उक्त बैठकमा प्राधिकरणका महानिर्देशक र एयर ट्रान्सपोर्ट डिभिजन प्रमुख सचितभक्त पोखरेल थिए ।

व्यवसायीसँगको बैठक सकिएलगत्तै महानिर्देशक पोखरेल मन्त्रालयको बैठकतर्फ लागेका छन् । मन्त्रालयले यो विषय उपाप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिमा लैजाने र समितिबाट मन्त्रिपरिषदबाट निर्णय हुने स्रोतले बतायो ।

सरकारले चैत ९ गतेदेखि व्यवासायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने चैत ११ देखि आन्तरिक उडान पनि रोकिएका छन् । सरकारले ६ पटक निर्णय गर्दै उडानलाई जेठ ३२ सम्म रोक लगाएको छ । कान्तिपुरबाट