बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रै घेराबन्दीमा पारिएको भन्दै गृह जिल्ला झापामा नेकपाका कार्यकर्ता सडकमा उत्रिएका छन् ।

नेकपाभित्रको आन्तरिक विवाद छताछुल्ल भइरहेका बेला नेकपाका कार्यकर्ताले आज झापाको बिर्तामोडमा प्रधानमन्त्री ओलीका पक्षमा नाराबाजी गर्दै खबरदारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई कुनै पनि हालतमा अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नहुनेमा उनीहरुको जोड छ । विधि र प्रक्रियाका आधारमा मात्रै नेतृत्व फेरबदल गर्ने मान्यता तोडेर नेताहरु सनकमा उत्रिन नहुने सहभागी बताउँछन् ।

ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन गरिएको प्रयासले मुलुकलाई अस्थिरतातर्फ लैजाने भन्दै उनीहरुले वार्ता र संवादबाटै समस्याको हल खोज्नु पर्नेमा जोड दिएका छन् ।

कमजोर तयारी, सहभागिता न्यून
प्रधानमन्त्री ओलीको पक्षमा जनमत उर्लिदो छ । तर, प्रदर्शनमा भएको कमजोर तयारीले सहभागिता भने न्युन देखिएको छ । वर्षाको समय र लक डाउनका कारण पर्याप्त प्रचार र तयारी नहुँदा सहभागीको संख्या कम देखिएको हो । प्रदर्शनमा प्रधानमन्त्री ओलीनिकट पूर्व एमालेका कार्यकर्ताको सहभागिता बढी देखिएको छ । प्रदर्शनमा पूर्व माओवादीका कार्यकर्ता भने सहभागी भएनन् ।

घेराबन्दीविरुद्ध खबरदारी
प्रदर्शनमा सहभागी नेकपाका कार्यकर्ता एवम् पत्रकार गणेश पोखरेलले कसैलाई मन लाग्दैमा अध्यक्ष नफेरिने बताए । ‘अध्यक्ष फेर्ने वा राख्ने भन्ने निर्णय महाधिवेशनले गर्छ’, पत्रकार पोखरेलले भने, ‘अहिले जसरी घेराबन्दी गरिएको छ, त्यसविरुद्ध खबरदारी गर्न हामी जनता सडकमा आएका छौँ ।’

अस्थिरता अस्वीकार
नेकपाका अर्का युवा कार्यकर्ता भीष्मराज पौडेल पनि राजनीतिक स्थायित्व रहने गरी नेकपाले जनमत पाएको तर विवादका बीच नेतृत्व फेरबदल हुँदा जनमतको अपमान हुने बताउँछन् । उनले जनताले अस्थिरता स्वीकार नगर्ने भन्दै नेताहरुलाई सच्चिन सुझाव दिए ।

प्रदर्शनमा सहभागी नेकपाका कार्यकर्ता एवम् दलित नेता टीकाराम मंग्रातीले ओलीविरुद्धको षड्यन्त्र र चलखेल विफल पार्न सबै एकजुट हुनुपर्ने भन्दै निरन्तर खवरदारी गरिने बताए ।

महिला नेतृ हर्कमाया विकले हटाउने हो भने मध्यावधि चुनावबाट मात्रै प्रधानमन्त्री हटाउनु पर्ने बताइन् । प्रदर्शनमा सहभागी कमला थापाले भारतीय नीतिलाई बल पुग्ने गरी प्रधानमन्त्री हटाउन नहुने भन्दै ओलीलाई पुरै कार्यकाल काम गर्न दिनु पर्नेमा जोड दिइन् ।