काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ ।

गएको २४ घन्टामा २०४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार १६८ पुगेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

गएको २४ घन्टामा आरटी पीसीआर टेस्ट ६ हजार १३३ जनाको परीक्षण गरिएको छ । हालसम्म २ लाख ६१ हजार ८६१ जनाको पीसीआर भएको प्रवक्ता गौतमले जानकारी दिए ।

उनका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २५ हजार ७२७ र आइसोलेसनमा रहनेको संख्या ८ हजार ६३४ जना रहेको छ ।

एकैदिन ६८८ जना डिस्चार्ज
पछिल्लो २४ घन्टामा ६ सय ८८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा ६ सय ८८ जना स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिइएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितमध्ये ७ हजार ४९९ निको भइसकेका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमितको संख्या १६ हजार १६८ को आधारमा निको हुनेको प्रतिशत ४६।४ रहेको प्रवक्ता गौतमले बताए ।

उनका अनुसार यसअघि ७७ जिल्लामा नै पोजिटिभ देखिएको मा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोनामुक्त भएका छन् ।