शनिश्चरे । कोभिड–१९ तथा सरुवा रोगसम्बन्धी जानकारी दिने उद्देश्यले राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर समितिको आयोजनामा मंगलबार एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

अर्जुनधारा–८ स्थित सामुदायिक भवनमा समितिका अध्यक्ष दिलिप राईको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवा थिए ।

नेपालगञ्ज मेडिकल कलेजका एसीसटेन्ट प्रोफेसर सरुवा रोग विशेषज्ञ डा किशोर गुरुङले सहजीकरण गरेको कार्यक्रममा ३० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, नगर सभा सदस्य सुशिला सुवेदी, पार्टीकी केन्द्रीय उपाध्यक्ष मीना पन्धाक, चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली र अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले आफ्ना भनाइ राखेका थिए ।

राजनीतिक दलहरुले यसअघि स्वास्थ्यसम्बन्धि तथा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे चेतना जगाउने उद्देश्यले कार्यक्रम नगरेको अवस्थामा जनमुक्ति पार्टीले कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे ।

सोही कार्यक्रमका बीच समितिले पार्टीको भावी योजना, वर्तमान अवस्था र समसामयिक विषयमा कार्यकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको सहभागी राज खम्बूले जानकारी दिए । उक्त कार्यक्रमको सहजीकरण पार्टी केन्द्रीय अध्यक्ष पालुङवाले गरेका थिए ।

कार्यक्रममा समितिका उपाध्यक्ष तेजबहादुर योङहाङको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव भूपाल राना मगरले गरेका थिए ।