समाज

इलाम, झापा र मोरङमा भारी वर्षा, एसएमएसबाट अलर्ट

By admin

July 28, 2020

झापा । सोमबार रातिदेखि देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रका अनुसार इलाम, झापा र मोरङमा भारी वर्षा भएपछि सम्भावित बाढी, पहिरो र डुबानको जोखिमबाट जोगिन त्यस क्षेत्रका मानिसलाई एसएमएसमार्फत सूचित गरिएको छ ।

भारी वर्षापछि मेची, विरिङ, निन्दा, कन्काई, चिसाङ खोला, मावा, रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला र अन्य साना खोलामा बाढी आउन सक्ने ठानिएकाले सतर्क रहन आह्वान गरिएको हो ।

यस्तै कैलाली र कञ्चनपुरका धेरैजसो स्थानमा भारी वर्षा भएपछि त्यस क्षेत्रका कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायतका नदीमा बाढीको खतरा रहेपछि त्यस क्षेत्रमा पनि एसएमएसमार्फत ‘अलर्ट’ गराइएको छ ।

बुटवलको तिनाउ नदी बाढी मापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरेपछि कञ्चनखोला र तिनाउ खोलाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सूचित गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार पहिले गरिएका अनुमानअनुसारै सोमबार रातिदेखि वर्षाको मात्रा बढ्दै गएको छ ।

उनका अनुसार सोमबार प्रदेश १ का धेरै स्थानमा वर्षा भएको छ भने त्यहाँका एक–दुई ठाउँमा भारी वर्षासमेत भएको छ। यस्तै गण्डकी, सुदूरपश्चिम प्रदेशमा पनि सोमबार वर्षा भएको छ।

क्रमिकरूपमा मुलुकभर नै वर्षा बढ्दै जाने मौसमविद्ले जनाएका छन् । आज (मंगलबार) देखि वर्षाको मात्रा अझ बढ्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज सातै प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ।

‘दिउँसो देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ।’

यसैगरी राति पनि देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदूर पश्चिमका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार र बिहीबार वर्षा अझ बढ्ने अनुमान गरिएको छ। महाशाखाको बुलेटिनअनुसार बुधबार र बिहीबार ‘धेरै भारी’ वर्षाको सम्भावना छ।