भगीरथ भण्डारी,
इलाम । जिल्लाको सन्दकपुर गाँउपालिका–५ को जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निर्माण कार्य धमाधम भइरहेको छ । प्रदेश सरकारको १५ र सन्दकपुर गाउँपालिकाको २० लाख रुपैयाँ लागतमा गजाधर धनमाया रंगशालाको काम भइरहेका हो ।

केही समय अगाडि जमुनाका फुटबल खेलप्रेमी, वौद्धिक व्यक्तित्व र जनप्रतिनिधिको पहलमा जमुनामा स्थानीय समाजसेवी तोयानाथ भट्टराईसँग १५ लाखमा १८ रोपनी जग्गा किनेको र बाँकी भट्टराईले निशुल्क जग्गा दान गरेपछि २५ पुगेको र रंगशाला बन्न आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप काम थालिएको गजाधर धनमाया रंगशाला उपभोक्ता समितिका अध्यक्ष उमेश गुरुङले बताउनुभयो ।

जसमा अहिले प्रदेश र स्थानीय सरकारबाट ३५ लाख, फूटबल प्रेमीबाट एक लाख ४५ हजार र स्थानीयको सहयोगमा ८ लाख संकलनबाट काम भइरहेको छ । दुई वर्षमा सम्पन्न गर्नका लागि २५ रोपनी जग्गालाई वडा कार्यालयको माताहतमा ल्याएर रंगशाला निमार्ण कार्य शुरु गरेको हो । ‘यतिबेला मैदान सम्याउने कार्य भैरहेको र रकम अपुग भएकोले बाँकी कार्यको लागि संघीय र प्रदेश सरकार साथै गाउँपालिकालाई गुहारेका छौं’, गुरुङले भन्नुभयो, ‘उहाँहरुले पनि सहयोग गर्ने वचन दिनुभएको छ ।’

करिब २ करोड लागत लाग्ने अनुमान गरिएको रंगशालाको लागि १६ रोपनी क्षेत्रफलको १ सय ५ मिटर लम्बाई र ६५ मिटर चौडाइ ६ रोपनी क्षेत्रफलमा प्लेयर बक्स, फोर्थ अफिसियल र बाँकी क्षेत्रफलमा कङ्क्रिड प्याराफिट बनाउने योजना अनुरुप काम सुचारु भएको हो ।

माईभ्याली गोल्डकपपछि सबैभन्दा धेरै दर्शक हुने र यहि चाप बर्सेनि बढेकाले रंगशाला बनाउनु अपरिहार्य रहेको वडाध्यक्ष जितबहादुर साँवा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जमुना फुटबलको ब्रान्ड भएर पनि वडाको खेलमैदान नभएकोले ३४ वर्षदेखि वर्षेनि भानुदय आधारभुत विद्यालयको खेलमैदानमा खेल आयोजना गर्नुपर्ने बाध्यता थियो । तर, यो रंगशाला निमार्ण सम्पन्न भए पश्चात विद्यालयको मैदानमा फुटबल खेलाउनु पर्ने बाध्यता हट्ने छ”।

हाल जमुनाबाटै नेपाली राष्ट्रिय फुटबलमा छिरिङ गुरुङ र दर्शन गुरुङले प्रतिनिधित्व गरिरहेकाले पनि इलामको जमुनालाई फुटबल क्षेत्रमा विकास गर्न पनि मैदानको आवश्यकता रहेको सावाँको भनाइ छ ।

यो क्षेत्रबाट दार्जेलिङ नजिक भएका कारण जमुनाका खेलाडी फुटबल खेल्न जाने र महिनौसम्म बस्ने गर्दछन । जमुनामा प्रत्येक वर्ष तिहारको बेला लाग्ने कागे मेला र सो अवसरमा हुने फुटबलमा पनि भारतको दार्जेलिङ र अन्य क्षेत्रबाट धेरै जसो फुटबल टिम आउने गरेका छन् ।

त्यस कारण पनि इलाममा हुने माईभ्याली पछिको पहिलो फुटबल विकासको रुपमा हेरिएको छ । पर्यटकीय क्षेत्रमा फड्को सन्दकपुर गाउँपालिकाको जमुना पर्यटकीय क्षेत्रका रुपमा पनि विकास भइरहेको छ ।

यहाँ जिल्लाकै सबैभन्दा ठूलो चन्द्रपाल थेवे ढापपोखरी पनि रहेको छ, जुन निमार्ण भइरहेको रंगशाला नजिकै छ । उक्त पोखरी मानव निर्मित हो । पोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । सो पोखरीमा ०७१ मा बाँध बाँधेर पानी जम्मा गर्न शुरु गरिएको थियो ।

दुई वर्ष अघिदेखि डुङ्गा सञ्चालनमा रहेको र यहाँ पर्यटकको आगमनमा समेत वृद्धि भएको समितिका अध्यक्ष एवं पूर्व फुटबल खेलाडी विप्लव भट्टराईले बताउनुभयो ।

सदरमुकामबाट २१ किलोमिटर उत्तरको जमुना स्थानीयको पर्यटन विकास प्रतिको मोह र सक्रियताका कारण अढाई तीन वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ । यहाँबाट सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आउने पर्यटक पनि पुग्ने गरेका छन् ।