इलाम । होमस्टे एसोसिएसन नेपालले देशभरका होमस्टेको सेवा पुनः चालू गर्न आग्रह गरे पनि इलामका व्यवसायीले साउनभर होमस्टे सञ्चालन नगर्ने भएका छन् ।

जिल्लामै धेरै होमस्टे रहेको अन्तु–समालबुङ क्षेत्रका व्यवसायी तथा सरोकारवालाको बुधबारको बैठकले होमस्टे तत्काल नखुलाउने निर्णय गरेको हो ।

बैठकले कोरोनाभाइरसको जोखिम कायमै रहेकाले अब कम्तीका १५ दिन होमस्टे नखुलाउने र नजिकैका होटलहरूमा पनि पाहुना नराख्न आग्रह गर्ने निर्णय गरेको छ । बैठकपछि अन्तुडाँडा होमस्टेका अध्यक्ष धनकुमार आलेले होमस्टे खुलेपछि ठूलो संख्यामा पर्यटक आउने र कोरोनाबाट सतर्कता अपनाउन समस्या हुने भएकाले केही दिन होमस्टे नै चालू नगर्ने निर्णय भएको बताए ।

‘कोरोनाको बढ्दो असरलाई हेरेर अहिले होमस्टे नखोल्ने, खोल्नैपरे साउन अन्तिममा पुनः सरोकारवालाको बैठक बसेर अर्को निर्णय गरिनेछ,’ उनले भने, ‘अहिले होमस्टे खुलाउँदा पनि झापासँगको सीमाबाट पर्यटक आउन सहज छैन ।’

बैठकमा अन्तु–समालबुङ क्षेत्रका ८० भन्दा बढी होमस्टे व्यवसायी, सूर्योदय नगरपालिका ४ र ५ का वडाध्यक्षसहित जनप्रतिनिधि, स्थानीय टोल विकास संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

सरकारले गत चैत ११ मा लकडाउन घोषणा गरेपछि अन्तु–समालबुङका व्यवसायीले पनि होमस्टे बन्द गरिएको जानकारी दिन विज्ञप्ति जारी गरेका थिए । सरकारले लकडाउन खुकुलो पारेसँगै नजिकैका होटल/कटेजमा पाहुना आउन थालेपछि व्यवसायीले एसोसिएसनको पत्रानुसार सुरक्षाका उपाय अपनाएर साउन १५ देखि होमस्टे खुलाउने बताएका थिए ।

‘कतिपय व्यवसायीले होमस्टे खुलाउनुपर्ने प्रस्ताव राखे पनि कोरोनाको जोखिम बढी भएको बुझेपछि अहिले नखुलाउनु नै उचित हुन्छ भन्ने निष्कर्षमा पुगियो,’ अध्यक्ष आलेले भने ।

सूर्योदय, सूर्यास्त, चियाबारी र अन्तुपोखरीको सौन्दर्यले चर्चित अन्तु, समालबुङ क्षेत्रमा ७६ होमस्टे र ३३ भन्दा बढी होटल/कटेज छन् । अन्तुडाडाँडा सामुदायिक होमस्टेमा ६३ र अन्तुपोखरी सामुदायिक होमस्टेमा १३ होमस्टे आबद्ध छन् ।

लकडाउन सुरु हुने बेलामात्रै पनि यो क्षेत्रमा २० होमस्टे र दर्जनभन्दा बढी नयाँ होटल थपिएका थिए । तर, लकडाउनमा पर्यटक शून्य हुँदा नयाँ होटल, कटेज र होमस्टेको लगानी उठ्न सकेको छैन ।

अन्तु–समालबुङ क्षेत्रको एउटै होमस्टेमा पर्यटकीय सिजनमा महिनामै ६० देखि साढे ३ हजार जनासम्म पर्यटक आउने गरेका छन् । होमस्टे व्यवसायीले महिनामा ६० देखि १ लाख रुपैयाँसम्म कमाउने गरेको व्यवसायीको भनाइ छ ।

विशेषगरी गर्मी मौसममा इलामसहित झापा, मोरङ, सुनसरी, सप्तरीमात्र होइन, भारतको सिलिगुडी, मिरिक, दार्जिलिङलगायत धेरै ठाउँबाट अन्तु–समालबुङमा पर्यटक आउँछन् । नागरिकबाट