झापा । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै अर्जुनधारा १ नम्बर वडा कार्यालयले वडा सिल गर्ने निर्णय गरेको छ ।

वडाध्यक्ष गजाधर खतिवडाको अध्यक्षतामा आज शनिबार बसेको सर्वपक्षीय बैठकबाट वडालाई सिल गर्ने निर्णय गरिएको हो । वडा समितिका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, टोल विकास समितिका संयोजक र स्थानीयबासीबीच बसेको बैठकले शनिबार राति १२ बजेपछि वडा सिल गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार अत्यावश्यकबाहेक हिँडडुल बन्द गरिनेछ । त्यस्तै, एम्बुलेन्सबाहेक सबै प्रकारका सवारीसाधन पनि सञ्चालन हुने छैनन् भने खाद्यान्नबाहेकका पसल पूर्णरुपले बन्द गरिनेछ ।

सोही बैठकल अर्को सूचना नहुन्जेलसम्म सभा, सम्मेलन, बैठक पनि गर्न नपाउने निर्णय गरेको छ । सर्वपक्षीय बैठकले गरेको निर्णयलाई सहयोगका लागि अर्जुनधारा नगरपालिकालाई जानकारी गराउने तथा सशस्त्र प्रहरी बल खुदुनाबारी र शनिश्चरे प्रहरी चौकीलाई कार्यान्वयनका लागि अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

अर्जुनधारा १ सिस्नेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि वडाले यस्तो निर्णय गरेको हो । ३१ वर्षीय ती युवा काठमाडौँ गएर आएका थिए ।

काठमाडौँ जाँदा प्रवेश नाकामा उनको थ्रोट स्वाब संकलन गरिएको थियो । उनी बुधबार झापा घर आइ सबैसँग सम्पर्कमा रहेका थिए । उनको रिपोर्ट बिहीबार पोजेटिभ आएको थियो भने उनलाई थप उपचारका लागि गोठगाउँ पुराइएको छ ।