शनिश्चरे, झापा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद चाँडै समाधान हुने बताएका छन् ।

झापाको अर्जुनधारा नगरपालिकामा बिहीबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पार्टीको एकताको महाधिवेशनसम्म दुई जना अध्यक्ष मिलेर चलाउनुको विकल्प नभएको बताएका छन् । उनले ठुलो पार्टीमा सामान्य विवाद हुने भन्दै यस्ता विषयमा नेतृत्वले निकास निकाल्ने दावी गरे ।

सो भेटघाटमा कोरोना भाइरस संक्रमण नियन्त्रण र संक्रमितको उपचारबारे प्रदेश सरकारले गरिरहेका प्रयासबारे मुख्यमन्त्री राईले जानकारी गराएका थिए । उनले कोरोना नियन्त्रणका लागि गरेका प्रदेश सरकारले गरेका प्रयासमा सफलता हात पारेको दावी पनि गरेका थिए ।

पीसीआर जाँचको अभावमा प्रदेश नम्बर १ का बिरामीले अस्पतालबाट उपचार नपाई मृत्यु भइरहेको सन्दर्भमा मुख्यमन्त्री राईले पीसीआर जाँचको क्षमता बढाउने बताए । आइसोलेसन वार्डका् अभाबमा कोरोना संक्रमित क्वारेन्टाइनमा बसिरहेका छन् । मुख्यमन्त्री राईले झापासहितका तीन जिल्लामा १ सय बेडको आइशोलेसन निर्माणका लागि बजेटको पठाइसकेको बताए ।

मुख्यमन्त्री राई अर्जुनधारा नगरपालिकाको विभिन्न वडामा आयोजित कार्यक्रममा सहभागी भएका थिए । उनले अर्जुनधारा ९ मा मुख्यमन्त्री ग्रामीण सडक योजना अन्तर्गत निर्मित कालोपत्रे सडकको उद्घाटन गरेका थिए ।

त्यस्तै, अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा स्थापित श्री कृष्ण र अर्जुन सवार रथको मुख्यमन्त्री राईले अनावरण गरेका थिए । मेयर हरिकुमार रानाका अनुसार प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा अर्जुनधारा १ को सिस्ने र अर्जुनधारा २ को बेल्टारमा बनेको दुग्ध संकलन केन्द्र (चिलिङ सेन्टर) को पनि मुख्यमन्त्री राईले उद्घाटन गरेका थिए ।

त्यस्तै, अर्जुनधारा ३ मा निर्माणाधीन सामुहिक आवास गृहको मुख्यमन्त्री राईले अवलोकन गरेका थिए । सो आवास गृहमा १ सय बेडको क्वारेन्टाइन निर्माण हुने भएको छ । यसैगरी, बिहीबार नै नगरपालिकाले प्रस्ताव गरेको औद्योगिक ग्राम क्षेत्रको पनि मुख्यमन्त्री राईले अवलोकन गरेका छन् ।

यसैबीच, मुख्यमन्त्री राईले नगरका पार्टीका नेता, कार्यकर्ता भेटघाट गरे । भेटघाटका क्रममा पार्टीमा हाल उत्पन्न भएको विवाद र त्यसको समाधान हुने् आश्वासन राईले दिएका थिए ।

अर्जुनधारा नगर क्षेत्रमा रहेका उद्योगी, व्यापारी, सहकारीकर्मी र राजनीतिक दलका नेता, कार्यकर्तासँग पनि भेटघाट गरेका छन् ।