झापा । गाउँपालिकाको विकास र जिल्लाको समृद्धिका लागि कचनकवलका जनप्रतिनिधिहरु गंभीर देखिएका छन् ।

आपसी विवादका कारण कचनकवल गाउँपालिकासँगै समग्र जिल्लाको समृद्धिमा असर पुग्ने देखिएकाले त्यसतर्फ उनीहरु गंभीर देखिएका हुन् । कचनकवल गाउँपालिकामा देखिएको विवाद समाधानका लागि हिजो कार्यपालिकाको बैठक राखिएको थियो ।

बैठकमा सहभागी जनप्रतिनिधिहरुले बहुमत र अल्पमत भनेर जुँगाको लडाई गर्न नहुने भन्दै समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्न उनीहरु सहमत भएका छन् ।

गाउँपालिकाका असन्तुष्ट समूहले आन्दोलन स्थगित गर्दै छलफलबाटै समाधान खोज्न तयार भएको एक सहभागीले बताए । सहभागीहरुले हल्दिबारी गाउँपालिकाको जस्तो कचनकवल गाउँपालिका र गाउँपालिकाबासीहरुलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिएका थिए ।

हिजोको छलफल सकारात्मक बनेको र सहमतिका लागि बुधबार अर्को बैठक बोलाइएको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए ।

कचनकवल नेतृत्वले वडागत वजेटको विनियोजनमा विभेद गर्दै न्यून रकम छुट्याएको भन्दै ४ कार्यपालिका सदस्यसहित १४ परिषद सदस्य असन्तुष्ट देखिएका छन् ।

उनीहरूले वजेट सिलिङ यथावत हुनु पर्ने, जनताले तिर्नु पर्ने राजश्व साविक अनुसार नै हुनु पर्ने, गाउँपालिकाभित्रका सडक मर्मत लगायत विकास निर्माणका काम वडामार्फत हुनु पर्ने, योजना तथा अनुदान वडा कार्यालयको सिफारिसमा हुनु पर्ने र विकास निर्माणको लापरवाही र सामग्री वितरण प्रणाली पारदर्शी नभएकोले छानविन गरिनु पर्ने मागसमेत राखेका छन् ।

कचनकवल–४का वडाध्यक्षसहित १३ जना कार्यपालिका सदस्य नेकपा र नेपाली कांग्रेसका छन् भने बाँकी २२ जना सदस्य राप्रपाका छन् ।