सूचना प्रविधि

रोटरी क्लवले दियो मेची अस्पताललाई पीसीआर मेशिन

By admin

October 01, 2020

भद्रपुर। झापाको सदरमुकाम भद्रपुरस्थित मेची प्रादेशिक अस्पताललाई झापाका पाँचवटा रोटरी क्लवले संयुक्तरुपमा रियल टाइम पीसीआर मेशिन उपलब्ध गराएका छन् ।

रोटरीको क्लव अफ रिजन ७ तथा डिस्ट्रिक्ट ३२९२ को सहयोगमा झापाका रोटरी विर्तामोड, विर्तामोड मिडटाउन, रोटरी भद्रपुर, रोटरी काँकरभिट्टा, रोटरी सुरुंगा र रोटरी दमकले बिहीबार मेची प्रादेशिक अस्पतालमै पुगेर संयुक्त रुपमा पीसीआर मेशिन प्रदान गरेका हुन् ।

स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै अस्पतालको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेल तथा मेडिकल सुपरिन्टेन्डेन्ट डा। पिताम्बर ठाकुरलाई संयुक्त रुपमा पीसीआर मेशिन हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका बीच अस्पताल विकास समितिका अध्यक्ष पोर्तेलले अर्को पनि पीसीआर मेशिन प्राप्त भएकाले परीक्षणको दायरा बढ्ने र नतिजाको समय पनि घट्ने बताउनुभयो ।

विश्वव्यापी महामारी नोवल कोरोना भाइरस ९कोभिड १९० को संक्रमण नेपालमा बढ्दै गइरहेको बेला परीक्षणको दायरा बढाउन सहयोग पुर्याउने उद्देश्यले रोटरीले देशभरि ७ वटा पीसीआर मेशिन प्रदान गर्ने निर्णय गरेअनुसार प्रदेश १ मा मेची अस्पताललाई एउटा मेशिन उपलब्ध गराइएको रोटरियन निर्मल भट्टराईले जानकारी दिनुभयो ।

मेशिनको मूल्य सरदर १३ लाख ५० हजार रहेको रोटरी क्लव भद्रपुरका अध्यक्ष आदित्य पराजुलीले बताउनु भयो ।