अन्तराष्ट्रिय

विश्वमा प्रत्येक १६ सेकेण्डमा एउटा मृत शिशुको जन्म

By admin

October 10, 2020

झापा । विश्वमा प्रत्येक बर्ष २० लाख मृत शिशु जन्मने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । यो अवस्था कोभिड १९ ले थप भयावह बनाएको बन्दै राष्ट्रसंघले महामारीकै कारण थप २ लाख मृत शिशु जन्मने खतरा रहेको औंल्याएको छ ।

हाल प्रत्येक १६ सेकेण्डमा एउटा मृतशिशु जन्मिरहेको भन्दै राष्ट्रसंघले यसलाई विनाशकारी भनेको छ । जसमध्ये ८४ प्रतिशत कम र मध्य आय भएका मुलुकमा रहेको छ ।

युनिसेफ, विश्व स्वास्थ्य संगठन र विश्व बैंक समुहले तयार पारेको संयुक्त प्रतिवेदनमा कमजोर र कम गुणस्तरको स्वास्थ्य सेवाका कारण कम र मध्यम आय भएका मुलुकमा यो अवस्था थप चिन्ताजनक रहेको देखाएको हो । कोभिड १९ ले कम र मध्य आय भएका मुलुकको स्वास्थ्य सेवा ५० प्रतिशतले प्रभावित भएकाले यो संख्या थप बढ्ने आंकलन गरिएको छ ।

गर्भवती अवस्थामा गरिने हेरचाहमा सुधार गरे सयौं जीवन रक्षा हुनसक्ने प्रतिवेदनमा उल्लेख छ । युनिसेफका कार्यकारी निर्देशक हेन्रिट्टा फोरेले भन्नुभयो, गर्भमै शिशुलाई गुमाउनु कुनै पनि परिवारका लागि हृदयबिदारक हो, यसले आमा, परिवार र समाजकै मानसिक तथा आर्थिक पाटोमा समेत गम्भिर असर पुर्‍याउँछ । एजेन्सी