समाज

कोरोनाबाट आज झापाका ४ जनाको मृत्यु

By admin

November 03, 2020

बिर्तामोड । कोरोना संक्रमणका कारण आज एकै दिन झापाका ४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु बिर्तामाड, कमल, दमक र गौरादहका बासिन्दा रहेका छन् । मृत्यु हुने सबै पुरुष छन् ।

झापा बिर्तामोड ५ का शिक्षासेवी सनत ओलीको कोरोनाबाट निधन भएको थियो । गएराति ११ बजे काठमाडौको हेम्स हस्पिटलमा ६७ वर्षिय ओलीको उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएको छ । बिगत तीन सातादेखि कोरोनाका कारण बिरामी परेका ओलीलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा राखेर उपचार गरिएको थियो।

यस्तै, दमक ६ का ७१ वर्षीय खड्गबहादुर अधिकारीको पनि आज बिहान ८ः१५ बजे निधन भएको छ । सुगरसम्बन्धी रोगले ग्रसित अधिकारीलाई उपचारका लागि कात्तिक १० गते विराटनगरको नोवेल हस्पिटलमा लगिएको थियो । सोही दिन गरिएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो ।

हिजा सोमबारमात्र हस्पिटलबाट डिस्चार्ज भइ होम आइशोलेसनमा रहेका अधिकारीको आज निधन भएको हो । उनको शव नेपाली सेनाले आजै रतुवा खोलामा व्यवस्थापन गरेको छ ।

यसैगरी, गौरादह १ बस्ने गणेश अधिकारीको पनि निधन भएको छ । क्यान्सर र सुगरबाट ग्रसित अधिकारीको कात्तिक ७ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि होम आइशोलेसनमा बस्दै आएका अधिकारीको आज बिहान ९ः३० बजे निधन भएको हो । निजको शव आफन्तले बुझी कनकाई माइमा अन्त्येष्टि गरेका छन् ।

यस्तै, कमल गाउँपालिकामा पनि आज एक जना बृद्धको निधन भएको छ । कमल ४ निवासी ५० वर्षीय इन्द्रप्रसाद आदेम्बेको निधन भएको हो । कात्तिक १५ गते नोवेल विराटनगरमा संक्रमण पुष्टि भएका उनको घरैमा मृत्यु भएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।