झापा । पछिल्लो २४ घण्टाभित्र झापामा २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमित हुनेमा ६ जना स्वास्थ्यकर्मी रहेका छन् ।
संक्रमितमध्ये ७ जना महिला र १६ जना पुरुष छन् । दमक, अर्जुनधारा, मेचीनगर र गौरादहका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आज सबैभन्दा बढी दमकमा १० जनामा संक्रमण पुष्टि हुँदा २ जना महिला र ८ जना पुरुष छन् ।
दमकमा संक्रमित पुष्टि भएका मध्ये २ जना स्वास्थ्यकर्मी छन् । बिर्तामोड र गौरादहमा समान चार चार जनामा संक्रमण भएको छ । बिर्तामोडका ३ महिला र १ पुरुष तथा गौरादहमा १ महिला र ३ पुरुष रहेका छन् । गौरादहका एक जना स्वास्थ्यकर्मी रहेका छन् ।
यस्तै, भद्रपुरका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकी अर्जुनधाराकी एक महिला स्वास्थ्यकर्मी हुन् । मेचीनगरमा पनि संक्रमित भएका पुरुष स्वास्थ्यकर्मी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै, कनकाई नगरपालिकामा एक पुरुषमा पनि संक्रमण भएको छ ।
झापामा आजसम्म २ हजार २४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । ८०८ जना सक्रिय संक्रमित भइ आइशोलेसनमा उपचार भइरहँदा १ हजार ३७९ जनाले कोरोना जितेर घर फर्किएका छन् । आजसम्म झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।