अन्तराष्ट्रिय

अंशु बनिन् युके आर्मीको पहिलो नेपाली महिला क्याप्टेन

By admin

November 23, 2020

नरेन्द्र बस्नेत,

लण्डन । ‘वीर गोर्खाली’को नामले विश्वमा परिचित भूतपूर्व गोर्खा सैनिककी छोरी बेलायती सेनाको एक उच्च पदमा पुगेकी छन् । कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ भुम्दी घर भएकी २७ वर्षीय अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी छन् ।

हालसम्म बेलायती सेनाको उच्च तहमा पुग्ने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् । अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरी शनिबार मात्रै क्याप्टेन पदको फुली लगाएकी हुन् ।

६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र सुकु गुरुङकी कान्छी छोरी अंशु दन्त चिकित्सक (डेन्टिस्ट) हुन् । गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट) को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् । उनकी आमा भुम्दिकोट समाज यूके आमा समुहकी अध्यक्ष हुन् । उनीहरु सपरिरिवार बेलायतको फार्नबरोमा बस्दै आएका छन् ।

नेपालीहरु बेलायती सेनामा भर्ना हुन लागेको दुई सय वर्ष नाघिसकेको छ । गोर्खा रेजिमेन्टमा नेपालबाट युवतीहरुसमेत भर्ना गर्ने बेलायतको योजना रहे पनि अहिलेसम्म कार्यान्वयन हुन् सकेको छैन । तर, बेलायतमा बसोवास गर्दै आएका नेपाली किशोरीहरु भने फाट्टफुट्ट बेलायती सेनामा भर्ना हुँदै आएका भएपनि क्याप्टेन जस्तो उच्च पदमा पुग्ने कीर्तिमान भने सर्वप्रथम आँशुले कायम गरेकी छन्।

भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई भन्छन्, ‘यदि बेलायत सरकारले गोर्खा र तिनका सन्ततीहरुलाई ऐतिहासिक अत्याचार नगरेको भए अहिले क्याप्टेन मात्र हैन धेरै पहिला नै जनरल भैसक्ने थिए ।’

ढिला भए पनि गोर्खालीको नाम थप उच्च भएको राईले बताए । गोर्खाली र नेपालीकै नाम राख्न सफल भएकोमा राईले उनलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् । राताेपाटीबाट