झापा । अर्जुनधारा नगरपालिका वडा नं ३ मा रहेको सुखानी खोलामा पुल निर्माण हुने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको पुल स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र अर्जुनधारा नगरको संयुक्त लगानीमा निर्माण हुन लागेको हो ।

यो पुल ३ करोड २८ लाख ४१ हजार ३ सय २२ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने जनाइएको छ । उक्त पुलको शिलान्यास प्रतिनिधि सभा सदस्य पवित्रा खरेल निरौला, संविधानसभा सदस्य प्रेमबहादुर गिरी, प्रदेश सांसद बृख प्रधान र नगर प्रमुख हरिकुमार रानाले संयुक्तरुपमा गरेका थिए ।

अर्जुनधारा नगरपालिका वडा नं. ३ का अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रतिनिधि सभा सदस्य निरौला, संविधानसभा सदस्य गिरी, प्रदेश सांसद प्रधान, नगर प्रमुख राना लगायतले आफ्ना भनाइ राखेका थिए । आयोजनाको विषयमा नगरपालिकाका इन्जीनियर निरज अधिकारीले जानकारी दिएका थिए ।

पुल ७ मिटर चौडाइ र ५० मिटर लम्बाईको हुने इन्जीनियर अधिकारीले जानकारी गराए । २ वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी एल्टी कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताए ।

नगरका योजना अधिकृत हिमराज सेढाईले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङले गरेका थिए ।