झापा । बिर्तामोडका एकसहित झापाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ८ का ७२ वर्षिय गणेशबहादुर कार्की र शिवसताक्षी ९ का ७२ वर्षिय देवप्रकाश लिम्बू रहेका छन् ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा कार्कीको आज बिहान ५ः५० बजे मृत्यु भएको हो । मंसिर ७ गते पिसिआर परीक्षण गराएका उनको रिपोर्ट ८ गते पोजिटिभ आएको थियो । उनको लाशलाई ल्याएर अन्त्येष्टि गर्ने तयारी भइरहेको बिर्तामोड नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बिर्तामोडमा ११ पुगेको छ ।

त्यस्तै शिवसताक्षीका बृद्ध लिम्बूको बिएण्डसी हस्पिटल बिर्तामोडमा गएराति मृत्यु भएको हो । उनलाई मंसिर ७ गते कोशी अस्पताल विराटनगरमा संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा १०५ पुगेको छ ।