प्रकाश नेपाल,
इलाम । दुई दशक अगाडिसम्म सयौं घोडाहरु आलु, अलैंची, मटर कोसा, घिउ, छुर्पी आदि बोकेर जौबारीको बाटोमा लस्करै हुन्थे । जौबारी इलाममात्र नभएर उच्च पहाडी भेगको प्रमुख व्यापारी केन्द्र बनेको थियो । तर, अहिले जौबारी सुनसान छ ।

जौबारी कुनैबेला पूर्वाञ्चलकै ब्यापारिक केन्द्र थियो । सबैभन्दा फस्टाएको बजार र भारतीय सीमासँग जोडिएको कारण किसानले उब्जाएको अन्न बिक्री गर्ने प्रमुख थलो पनि यहि नै थियो ।

जौबारीमा भारतीय व्यापारीहरुको ब्यापार फस्टाएका कारण पनि नेपाली गाउँ घरमा उत्पादित कृषि बालीहरु सजिलै भारतीय बजारसम्म पुग्ने गर्दथे । सन्दकपुर गाउँपालिकामा पर्ने जौबारी भारतीय सीमा जोडिएकोले विभिन्न प्राकृतिक सुन्दरतासँगै आफैंमा पनि पर्यटकीय आकर्षणको केन्द्रमा रहेको छ ।

यहाँको एकैछिनमा हुस्सु आउने र एकैछिनमा घाम लाग्ने घमाइलो मौसमका कारण पनि भारतबाट गर्मी छल्न आउनेको भिडभाड नै हुन्थ्यो । हिउँदमा प्रायः हिउँ परिरहने हुँदा भारतलगायत अन्य देश्का विदेशी पर्यटकहरु दार्जिलिङ हँुदै जौबारी नघुमी उनीहरुको धित मर्दैन थियो ।

इलाम सदरमुकामको बिब्लयांटे बजार र माईजोगमाई गाउँपालिकाको नयाँबजारमा भन्दा बढी चहलपहल हुने र ठूलो बजारको रुपमा रहेको थियो जौबारीे । त्यसैले पनि सबै जौबारी जानै पर्ने बाध्यता थियो । त्यसो त हिउँदको समयमा गाउँघर गाडी पुग्ने ठाउँसम्म आफैं किसानले मागेको उपभोग्य सामानहरु लिएर व्यापारी आउने र किसानले उत्पादन गरेको सरसमानहरु लिएर जाने गर्ने गरेको इलामका पत्रकार बिप्लव भट्टराई बताउनुहुन्छ ।

तर अहिले जौबारी सुनसान छ । व्यापार फस्टाएकोले नेपालको छोटि भन्सार पनि त्यो समयमा राखिएको थियो । यसरी जौबारी व्यापारी केन्द्रको रुपमा राम्ररी फस्टाउँदै गएको समयमा १० वर्षे शसस्त्र द्वन्द्वले जौवारीलाई पनि अछुतो राख्न सकेन ।

भएको प्रहरी चौकी पनि सुरक्षाको कारण देखाउँदै सदरमुकाम तानिएपछि भारतीय व्यापारीहरुले दिनगन्ती गन्दै जौबारी छोड्न थाले । बाँकी व्यापारी पनि कृषकले आफूले उत्पादित सरसमान अन्तै लान थालेकाले ब्यापारीहरुपनि आ-आफ्नै बाटो लागेको स्थानीयको भनाई छ ।

जौबारीमा कृषि अनुसन्धान केन्द्र समेत रहेको छ । यसरी दिनप्रतिदिन बजार सुनसान हुन थालेसँगै किसानहरूले आफुले भने जस्तो आफ्नो समानको मूल्य पाउन छोडेको बताउँछन् ।जौबारीको चहलपहल घटेसँगै घिउ, छुर्पीले भने जस्तो बजार पाउन छोडेको छ । इमेज खबरबाट