स्वास्थ्य

झापाका ११ पालिकामा आज एकसाथ अस्पतालको शिलान्यास हुँदै

By admin

November 30, 2020

झापा । झापाका ११ वटा स्थानीय तहमा आज एकसाथ १० देखि १५ शैय्याका अस्पताल शिलान्यास हुँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५, १० र १५ शैय्याको अस्पताल निर्माणको शिलान्यास एकैसाथ आज गर्न झापाका १० सहित देशका ३९६ स्थानीय तहलाई पत्राचार गरेको थियो ।

कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगी हुने भएकाले मंसिर १५ गते एकैसाथ शिलान्यान्स गर्ने व्यवस्था गर्न मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ । देशभरका ३९६ स्थानीय तहको स्वास्थ्य संस्थामा ५,१० र १५ शैय्याको अस्पताल निर्माणका सूचीकृत गर्दै अर्थ मन्त्रालयमार्फत बजेट निकासा समेत भइरहेको मन्त्रालय जानकारी दिएको छ ।

यो चरणमा झापा जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकामा अस्पताल बन्ने भएको हो । बिर्तामोड नगरपालिकाको अनारमनी स्वास्थ्य चौकीलाई १५ शैंय्याको अस्पताल बनाउनका लागि १ लाख, गौरादह नगरपालिकाको गौरादह स्वास्थ्य चौकीमा १५ शैय्याका लागि १ लाख, कनकाई नगरपालिकाको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याका लागि ३२ हजार ३३०, मेचीनगर नगरपालिकाको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याका लागि ४२ हजार ८००, शिवसताक्षी नगरपालिकाको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याका लागि ३२ हजार ३३० रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै बुद्धशान्ति गाउँपालिकाको बुधबारे स्वास्थ्य चौकीमा १० शैय्याका लागि ८५ हजार , झापा गाउँपालिकाको टाघनडुब्बा स्वास्थ्य चौकीमा १० शैय्याका लागि ८५ हजार, कमल गाउँपालिकाको तोपगाछी स्वास्थ्य चौकीमा १५ शैय्याका लागि ४२ हजार ८००, गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याका लागि ३२ हजार ३३० रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै, कचनकवल गाउँपालिकाको बनियानी प्राथमिक स्वास्थ्य केन्द्र १५ शैय्याका लागि ३२ हजार ३३० र हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शैय्याका लागि ४० हजार २०० रुपैयाँ छुट्याइएको छ । मन्त्रालयले लागत इस्टिमेट तयार गरी थप ३० प्रतिशत बजेट सम्बन्धित पालिकाले बेहोर्ने व्यवस्था गरेको छ ।