कला

‘यो दाजुको मिर्मिरे आँखा’का सर्जक धनबहादुर रहेनन्

By admin

January 26, 2021

पोखरा । यो दाजुको मिर्मिरे आँखा…, जाई फूल चल्यो वासना…, बल्ल तल्ल भेट भाको दिन…जस्ता लोकप्रिय लोकगीतका सर्जक धनबहादुर गायक अब रहेनन्।

नेपाली लोकसंस्कृति र लोपोन्मुख अवस्थामा पुगेको गन्धर्व संस्कृतिको संरक्षणकर्ता धनबहादुर गायकको अल्पायुमै निधन भएको छ। उच्च रक्तचापबाट ग्रसित उनको उपचारका क्रममा सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार बिहान ८ बजेर १० मिनेटमा मृत्यु निधन भएको हो।

स्वास्थ्यमा समस्या आएपछि गायकलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। उनको टाउकोमा रगत जमेको थियो। गायकको इसाई धर्मअनुसार सोमबार नै अन्त्येष्टि गरिएको छ। ५९ वर्षीय धनबहादुरका दर्जन बढी गीत लोकप्रिय छन्। उनी वाद्यवादनमा पनि पारंगत थिए।

सानै उमेरमा विद्यालय जान छाडी भागेर संगीत क्षेत्रमा लागेका उनलाई पहिले सारंगीसमेत बजाउन आउँदैन थियो। तर, एक महिनामै सारंगी बजाउन सिके। धनबहादुर कतै मादलको आवाज सुन्नेबित्तिकै त्यता पुगिहाल्थे। संगीतप्रति सानैदेखि रुचि भएकाले सबैले उनलाई सानो झलकमान गन्धर्वको उपनामसमेत दिएका थिए।

पहिले बैदाम भनेर चिनिने लेकसाइडलाईनमा गएर सारंगी बजाउँदा विदेशीले केही रकम दिएपछि उनी पढाइभन्दा पनि बजाउनतिर लागेका थिए। धनबहादुर रकम र खान पाउने भएपछि गीत संगीतमै रमाउन थालेका थिए। लोप हुने अवस्थामा पुगेको गन्धर्व संस्कृति संरक्षण गर्ने अभियानमा सक्रिय उनले २०६६ सालमा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारंगी संरक्षण पाठशालाको समेत स्थापना गरेका थिए।

गन्धर्व जातिको मुख्य पेशाका रूपमा रहेको सारंगी जीविकोपार्जनको माध्यम थियो। तर, विस्तारै लोपोन्मुख अवस्थामा पुगेको यसलाई आधुनिक बाजासँग जोड्ने प्रयास उनले गरेका थिए। पुराना पुस्ताका केही व्यक्ति यो पेशामा निरन्तर लागे पनि नयाँ पुस्ताले यो अँगाल्न नखोज्दा यो पेशा संकटमा परेको उनले बताउँदै आएका थिए।

उनले अरूलाई सारंगी सिकाएर आफ्नो संस्कृतिको रक्षामात्र गरेनन्, अन्य जातिलाई समेत सिकाए। गन्धर्व संस्कृति संरक्षणका लागि उनको नेतृत्वमा पोखराको बाटुलेचौरमा गन्धर्व संग्राहलय भवन बनेको छ।

यो दाजुको मिर्मिरे आँखा, यो मायाले साहिली, रेलमा सलल, हेर दाइ पुतली उड्यो फरर, फूल माया नभुल, बेली र चमेली, जाई फूल चल्यो वासना, करिमा नभाको कुरा, बल्ल तल्ल भेट भाको दिन, सङ्लो पानी धमिलो मन किन फूल चल्यो बासनाजस्ता गीतका सर्जक उनले केही गीत रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा लाइभ रेकर्ड गराएका थिए। त्यहाँ उनले साँझको बेला रमाइलो मेला, चञ्चले टाढा माया पुग्दैन गम्छाले, मैले मायाजस्ता गीतका साथमा देउसीभैलो र तीज गीत रेकर्ड गराएका थिए।

उनी पोखरा लोकसंगीत समूहका अध्यक्ष र झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारंगी संरक्षण पाठशालाका संस्थापक अध्यक्ष थिए। त्यसैगरी, हिमाली सांस्कृतिक समूह, संगीत प्रशिक्षण केन्द्र, पोखरेली युवा सांस्कृतिक परिवार, शुक्ला साहित्य समिति गन्धर्व समाज, गन्धर्व संग्रहालय भवन निर्माण समिति, लोकदोहोरी गीत प्रतिष्ठान कास्कीलगायतका संस्थामा आबद्व थिए।

उनी अभिनय क्षेत्रमा समेत सक्रिय थिए। उनले कान्छी, सन्तान, पहिलो प्रेम, के घर के डेरा, फेरि भेटौला, सिन्दुर, जापानिज छोटो फिल्म पीपलडाँडालगायतमा अभिनय गरेका थिए। सांगीतिक र सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न साहित्यिक सामाजिक संघसंस्था र सञ्चारमाध्यमले उनलाई सम्मान गरेका छन्। गायक, लोकगीत संकलक तथा संगीतकार रहेका धनबहादुरको परिवारमा श्रीमती, २ छोरा र १ छोरी छन् ।