कला

पूरा भयो दयाहाङ र नम्रताको ‘वरदान’

By admin

February 25, 2021

झापा । पत्रकार तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माणाधीन सर्ट फिल्म ‘वरदान’को छायांकन पूरा भएको छ। फिल्ममा दयाहाङ राई र नम्रता श्रेष्ठले अभिनय गरेका छन्।

दयाहाङ र नम्रताले लामो समयपछि एउटै फिल्ममा अभिनय गरेका हुन् । नम्रता यसको मुख्य भूमिकामा छिन् । फिल्ममा लेखन पनि निर्देशक लामाकै रहेको छ। मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय फिल्ममा उठाइएको छ।

विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा फिल्ममा प्रस्तुत गरिएको लेखक तथा निर्देशक लामाले जानकारी गराए। फिल्म कोशिस नेपालले निर्माण गरेको हो।कोरोना र लकडाउनपछि मानसिक स्वास्थ्यबारे बहस बढेकाले यस विषयमा फिल्म बनाउने सोच पलाएको निर्देशक लामाले बताए।

‘डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ, तर हामीले बेलैमा सही सल्लाह लिन व दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं’, दीपेन्द्र भन्छन्, ‘डिप्रेसनबाट उठेर अरूलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो।’

नम्रताले फिल्मको कथावस्तु मन परेकाले अभिनय गरेको बताइन्। ‘मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका विषयमा मैले विभिन्न मञ्चमा बोल्दै आएको छुु’, नम्रता भन्छिन्’ ‘यो फिल्मले यस विषयमा सशक्त सन्देश दिन्छ भन्ने विश्वास लिएको छु।’

करिब २० मिनेट अवधिको फिल्ममा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनीता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् । शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म केही हप्तापछि अनलाइन प्ल्याटफर्ममा रिलिज गरिने निर्देशक लामाले बताए।