विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण डरलाग्दो गरी बढेको छ । १० दिनमै प्रदेशमा सक्रिय संक्रमितको संख्यामा ३० गुणाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा गत चैत २८ गते २१ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको ११ दिन अर्थात्, बिहीबारसम्म आइपुग्दा यो संख्या ३० गुणाले बढेर ६३५ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेशमा ११ दिनको अवधिमा ६१४ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश १ मा कुल संक्रमितमध्ये आधाभन्दा बढी विराटनगरका छन् । कोरोनाको दोश्रो लहर सुरु भएसँगै विराटनगरमा बिहीबारसम्म संक्रमित हुनेको संख्या ४२० पुगेको छ । गत चैत २८ मा विराटनगरमा ६ जना संक्रमित देखिएका थिए । ११ दिनमा यहाँ ४१४ जना संक्रमित थपिएका हुन् ।
संक्रमण बढेसँगै सक्रिय संक्रमित बिरामीले प्रदेश १ का अस्पताल भरीभराउ हुन थालेका छन् । सरकारबाट सञ्चालित कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । यस्ता अस्पतालमा गत चैतको तेस्रो सातासम्म संक्रमितको संख्या शून्यमा झरेको थियो ।
कोरोना संक्रमण बढ्न थालेपछि विराटनगरको कोभिड उपचार केन्द्र, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल र झापाको मेची अस्पतालमा रहेको कोभिड अस्पतालले पुनः सञ्चालनमा ल्याइएको छ । तीनवटै अस्पतालमा सक्रिय संक्रमितलाई भर्ना लिएर उपचार गर्न थालिएको छ ।
चैत २४ गते यता ३८ जना संक्रमितको विभिन्न कोभिड अस्पतालमा उपचार भईरहेको छ । कोशी कोभिड अस्पतामा २२, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जना र मेची अस्पतालको कोभिड अस्पतालमा तीन जना संक्रमित उपचाररत छन् ।
कोशी कोभिड उपचार केन्द्रका निमित्त संयोजक एपोलो भगतले चैत २४ मा एकजना संक्रमित भर्ना भएकोमा अहिले यो संख्या २२ जना पुगेको बताए । उनका अनुसार एकसय बेडको अस्पतालमा संक्रमित बिरामीहरु भर्ना हुने क्रम निरन्तर बढेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता पशुपति चौधरीले पछिल्लो दिन अस्पतालमा संक्रमित भर्ना हुने क्रम बढेको बताए । वैशाख ६ गतेदेखि अस्पतालमा कोरोना संक्रमित भर्नाको क्रम सुरु भएको जानकारी दिँदै उनले १३ जना उपचाररत रहेको बताए ।
करिव दुई सातायता विराटनगरमा कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ । संक्रमण तीव्र रुपमा फैलिनुमा चिकित्सकहरुले दुईवटा कारणलाई मुख्य मानेका छन् । भारतीय भूमिसम्म हुने अनधिकृत आवातजावत र केही दिनअघि सम्पन्न विराट गोल्डकप फुटबलमा भेला भएको भिडका कारण संक्रमण बढेको उनीहरुको भनाइ छ ।