काठमाडौँ । छिमेकी राष्ट्र भारतको केरलमा निपा भाइरसको संक्रमण पुष्टिसँगै नेपाल पनि जोखिममा देखिएको छ ।
सेप्टेम्बर ५ मा निपा भाइरसबाट १२ वर्षीय एक बालकको मृत्यु भइसकेको छ । नेपाल पनि भाइरसको जोखिममा हुन सक्ने विज्ञहरुले बताएका छन् ।
के हो निपा भाइरस ? विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस जुनोटिक भाइरस हो, जुन जनावरबाट मानिसमा सर्ने गर्दछ । यो भाइरस दूषित खाना र मानिसबाट मानिसमा सिधै पनि सर्न सक्छ । भाइरबाट संक्रमित जनावर जस्तै चमेरो तथा सुँगुरको थुक र पिसाबबाट मानिसमा सर्न सक्छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो भाइरस पहिलोपटक मलेसिया तथा सिंगापुरमा सन् १९९८–९९ मा देखिएको थियो । यो भाइरसको नाम मलिसियाको एक गाउँबाट राखिएको हो ।
यो भाइरस पहिलोपटक घरपालुवा सुँगुरमा देखिएको थियो जसबाट ३ सय जना संक्रमित बन्न पुगेका थिए र १०० जनाको मृत्यु भएको थियो । भाइरस नियन्त्रणका लागि १० लाखभन्दा बढी सुँगुर पनि मारिएको थियो । त्यसपछि यता भने उक्त ठाउँमा संक्रमण देखिएको छैन तर भारत र बंगलादेशमा भने बेला बेलामा संक्रमण देखिएको छ ।
भारतमा सन् २००१ को जनवरी–फेब्रुअरीमा पश्चिम बंगालको सिलिगुडीमा पहिलोपटक यो भाइरस देखिएको थियो । त्यतिबेला ६६ जनामा संक्रमण देखिएको थियो ।
त्यसपछि सन् २००७ मा पनि यो भाइरस देखियो । सन् २०१८ मा पुनः यो भाइरस देखिएको थियो जसमा १७ जनाको मृत्यु भएको थियो । बंग्लादेशमा भने सन् २००१ मा यो भाइरस देखिएको थियो ।
निपा भाइरसका लक्षण के के हुन् ? निपा भाइरसका लक्षणविहीनदेखि सामान्य तथा गम्भीर खालका लक्षणहरु हुन सक्छन् । सुरुमा यसले मस्तिष्क सुनिन्छ जसलाई इन्सेफ्लाइटिस पनि भनिन्छ । यसले मृत्यु पनि गराउन सक्छ ।
भारत र बंगलादेशमा देखिएको यो भाइरसको संक्रमण फलफूलबाट पाइएको छ । काँचो खजुरका जुस यदि चमेरोले खाएको छ भने त्यसको पिसाब तथा थुकबाट मानिसमा सर्न सक्छ । त्यसैले फलफूल खाँदा मज्जाले धोएर अनि ताछेर खानुपर्ने चिकित्सकको सुझाव छ ।
भाइरसको सम्पर्कमा आएको ४ देखि २ हप्ताभित्रको समयमा लक्षणहरु देखा पर्न सक्छन् । ४५ दिनसम्म पनि लक्षणहरु देखिन सक्ने बताइएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमा ज्वरो तथा टाउको दुख्ने लक्षण ३ दिनदेखि २ हप्तासम्म पनि देखिन सक्छ । यो भाइरसले खोकी, घाँटी दुख्ने तथा श्वास फेर्न अप्ठ्यारो पनि गराउन सक्छ ।
यदि संक्रमितमा इन्सेफ्लाइटिसको समस्या देखिन थाल्यो भने निद्रा लाग्ने, शारीरिक विचलन महसुस हुनुका साथै मानसिक भ्रम हुने र एक-दुई दिनमै कोमा पनि गराउन सक्छ ।
यो रोग मज्जाले निको हुने भए पनि भाइरसको लामो समयसम्म पनि साइड इफेक्ट हुन सक्छन् । निरन्तर झट्का लागेजस्तो हुनु र व्यक्तित्वमा परिवर्तन पनि आउन सक्छ ।
नेपालमा यसको जोखिम कति ? यसो भन्छन् विज्ञ ? निपा भाइरसको हालसम्म कुनै पनि औषधि तथा खोप उपलब्ध भइसकेको छैन । त्यसैले जनचेतना एकदम आवश्यक देखिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार ४० देखि ७५ प्रतिशत केसमा मृत्यु हुन सक्छ । विश्व स्वास्थ्य संगठनले यो रोगलाई प्राथमिकतामा पर्ने रोग भनेर बताएको छ ।
विज्ञहरुका अनुसार यदि यो भाइरसको आउटब्रेकको शंका गरिएको छ भने त्यो ठाउँलाई तुरुन्त क्वारेन्टाइन गरिहाल्नुपर्छ । नेपालमा भने यो भाइरस परीक्षण गर्ने सुविधाहरु उपलब्ध भइसकेका छैनन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भने यो परीक्षण सम्भव छ ।
हालसम्म नेपालमा निपा भाइरसका केस देखिएका छैनन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार नेपालमा यो भाइरस पुष्टि नभएता पनि जोखिममा रहेको बताउँछन् ।
डा पुन भन्छन्, ‘भाइरस फैलाउने खालको चमेरोहरु नेपालमा पनि पाइन्छन् । यो भाइरसको परीक्षण नगरिएको हो वा के हो थाहा भएन अहिलेसम्म पुष्टि भएका केसहरु देखिएका छैनन् ।’ उनले यो भाइरस अति संक्रामक भएको र मृत्युको जोखिम पनि बढी रहेको भन्दै सरकार चनाखो रहनुपर्ने बताए । इकान्तिपुरबाट