नेपालगन्ज । ‘म जे गर्छु नेपाल र नेपालीका लागि गर्छु’ नाराका साथ स्वास्थ्य क्षेत्रमा लागिपरेका बिएण्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पताल झापाका सञ्चालक दुर्गा प्रसाईले बाँकेको नेपालगन्जमा २०० करोडभन्दा बढीको लगानीमा क्यान्सर अस्पताल सञ्चालन गर्न तयार रहेको बताएका छन् ।
स्वतन्त्र युवा संघको आयोजनामा स्थानीय बाटीका होटलमा हिजो भएको युवासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस ठाउँबाट युवालगायत सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, स्थानीय सबैको सहयोग मिलेमा सुविधा सम्पन्न क्यान्सर अस्पताल, बालबालिका सम्बन्धि अस्पताल र प्रसुति गृह बनाउन लगानी गर्ने बताएका हुन् ।
छिमेकी देश भारतबाट समेत बिरामी आउने गरि, यहाँबाट काठमाडौं र भारतको लखनउ जानु नपर्ने गरि अस्पताल सञ्चालन गर्न सम्भावित फिजिभिलिटी अध्ययन गर्न आफ्नो टीम लागि परेको पनि उनले बताए ।
राज्यले मेडिकल कलेज सञ्चालनमा ल्याउँछु, निजी क्षेत्रबाट लगानी गर्नेहरुलाई समेत स्वीकृति नदिने, हजारौं हजार युवायुवतीहरुलाई विदेश जानबाट रोक्छुभन्दा नि स्वीकृति नदिई हजारौं नेपालीहरु मेडिकल शिक्षा पढ्न विदेश जानुपर्ने र करोडौं रुपैयाँ विदेसिने उनको भनाय छ ।
आफूले झापामा रहेको आफ्नो क्यान्सर अस्पतालमा १० हजार जना महिलाको निशुल्क स्क्रिनिङ्ग गरिहेको, १ हजार जना गरिब दुःखीको स्वास्थ्य बीमा गरिदिँदै आएको पनि जानकारी दिए ।
नेपालगन्जमा पुस महिनादेखि अस्पताल बनाउन सुरु गर्ने समेत उनले घोषणा गरेका छन् । कार्यक्रममा नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा सुरेश कुमार कानोडिया, नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका नगर कमिटी अध्यक्ष दत्तप्रसाद आचार्य, समाजसेवी मीना ढकाल, समाजसेवी प्रकाश कुँवर, साहील अन्सारी, मानवअधिकारकर्मी सुरेश गौतम, हरित अभियन्ता हेमन्त राज काफ्ले, अनेरास्ववियु बाँकेका नेता प्रकाश बिक लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले प्रसाईले यस क्षेत्रमा लगानी गर्न लागेकोमा खुसी व्यक्त गर्दै यहाँका जनताले सक्दो सहयोग गर्ने बताएका थिए । जिल्ला खेलकुद विकास बाँकेका अध्यक्ष मोहित शाहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार करुणा शाह महारानीले गरेकी थिइन् ।