स्वास्थ्य

मेची अस्पतालमा सिटी स्क्यान र अक्सिजन प्लान्ट सुरु

By admin

October 09, 2021

झापा । मेची अस्पताल भद्रपुरमा शनिबारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ ।

 

प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले एक कार्यक्रमका बीच मेची अस्पतालमा सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन् । साथै, मन्त्री साम्सोहाङले अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको पनि उद्घाटन गरेका छन् ।

 

प्रदेश १ सरकारले गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्याएको ५ करोड १४ लाख ५७ हजार रुपैयाँ बजेटबाट सिटी स्क्यान र एक करोड बजेटबाट अक्सिजन प्लान्ट जडान गरिएको थियो । ती दुवै सेवा सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टंकप्रसाद बाराकोटीले जानकारी दिए ।

 

मेची अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि दुर्घटनामा परी टाउकोमा चोट लागेका वा टाउकाकोे अन्य समस्या भएका बिरामीलाई अन्यत्र रेफर गर्नु पर्ने बाध्यताको अन्त्य भएको मेसु बाराकोटीले बताए ।

 

त्यस्तै दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट सेवा सुचारु भएपछि कोभिड वा नन–कोभिड भएका बिरामीलाई चाहिने अक्सिजनको समस्या पनि टरेको उनको भनाइ छ ।

 

अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षता तथा सामाजिक विकास मन्त्री साम्सोहाङ्गको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरू बसन्त बानियाँ, ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका उपमेयर चन्द्रामाया श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।