कला

मिस झापा कात्तिक १५ गते, ३ जिल्लाका १४ स्पर्धी

By admin

October 29, 2021

बिर्तामोड । वीरता जेसीजको आयोजनामा हुन लागेको मिस झापाको ग्रान्ड फिनाले कात्तिक १५ गते सोमबार हुने भएको छ ।

 

 

मिस झापाको तयारीका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा ग्रान्ड फिनाले कात्तिक १५ गते बेलुका ४ बजेदेखि बिर्तामोडको किङ्ग्स वेरी होटलमा हुने आयोजकले बताएको हो । प्रतियोगितामा १४ जना युवतीले भाग लिँदैछन् ।

 

 

ती प्रतियोगीहरुको अहिले तालिम भइरहेको जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठले बताए । उनले मिस झापाको उपाधि विजेताले स्कुटर पाउनुका साथै विभिन्न चलचित्र र म्युजिक भिडियोमा खेल्न पाउने र मिस नेपालमा सहभागी हुन पाउने जानकारी दिए । त्यस्तै उपविजेताहरुले विभिन्न गिफ्ट ह्याम्पर पाउने उनले बताए ।

 

 

वीरता जेसीजले आयोजना गरेको मिस झापाको यो दोस्रो संस्करण हो । यसअघि सन् २०१४ मा आयोजना गरिएको थियो । मिस झापालाई वीरता जेसीजको ब्रान्डको रुपमा अब हरेक वर्ष गर्ने योजना रहेको अध्यक्ष राजीव धिमालले बताए ।

 

 

उनले कमाउनेभन्दा पनि सभ्य, भव्य र पारदर्शी समाज निर्माण गर्ने उद्धेश्यले सो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगितामा १८ देखि २४ वर्ष उमेर समूहका झापा, मोरङ र इलामका १४ जना युवती सहभागी हुने भएको कार्यक्रम संयोजक जीवन खड्काले बताए ।