बिर्तामोड । संगीतप्रेमीहरुको एक समूहले झापा बिर्तामोड ९ का नाम्ग्येल तामाङलाई जिताउन अभियान सुरु गरेका छन् । नेपालकै चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन ४ को टप १२ मा पर्न सफल नाम्गेललाई जिताउन बिर्तामोडका संगीतप्रेमी युवाहरुको टिमले समिति निर्माण गरेर अभियान सुरु गरेका हुन् ।
विद्यार्थी जीवनबाटै गायन क्षेत्रमा लागेका नाम्ग्येल उत्कृष्ट हुँदै नेपाल आइडलमा पुगेको उनका प्रशंसकहरु बताउँछन् । सबै प्रकारका गीत, संगीत तथा गायन कलामा अब्बल नाम्गेललाई जिताएर पूर्वको मात्र नभइ देशकै गहनाको रुपमा स्थापित गराउने उद्देश्यले उनको प्रचारप्रसार र भोटिङ सपोर्टका लागि समिति निर्माण गरिएको जनाइएको छ ।
जुनसुकै प्रकारका गीत गाउनसक्ने क्षमता राख्ने गायक नाम्ग्येलले आफ्नो प्रस्तुति र लोकप्रियताकै कारण पनि बढी भोट पाउने दाबी समितिका संयोजक जोनी तामाङले गरेका छन् । अनुशासित नाम्गेलको संगीतप्रतिको लगाव पनि उनको राम्रो पक्ष भएको उनको भनाइ छ ।
सिंगो नेपालले नै गर्व गर्नलायक कलाकार नाम्ग्येल भएको बताउँदै समर्थक तथा युवा अभियन्ता प्रकाश लिङदेनले संगीतप्रतिको उनको लगावले अहिले विजेता बन्ने उचित समय भएको दाबी गरे ।
उनको प्रचारप्रसार र भोटिङ सपोर्टका लागि बिर्तामोडमा कार्यालय नै स्थापना गर्ने लिङ्देनले बताएका छन् । कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले अन्य शहर तथा जिल्लामा बिर्तामोडमा निर्माण गरिएको समितिले प्रचारप्रसारको कार्य गर्ने लिङ्देनले जानकारी दिए ।
सामाजिक सञ्जाल र युट्युवमा कभर गीत गाएर आफ्नो कला प्रस्तुत गर्दै सांगीतिक क्षेत्रमा चम्किलो तारा बनेका नाम्ग्येललाई जिताउन बिर्तामोडमा बुधबार पत्रकार भेटभाट गरेर समिति निर्माणबारे जानकारी दिइएको छ ।
संगीतकार जोनी तामाङ संयोजक रहेको समितिको सदस्यमा विशाल अग्रवाल, कृति भट्टराई, अपेक्षा राई, आयुस गुरुङ, अनिष पुडासैनी, राहुल राई, नसिव मगर, ललीत राजवंशी, अनिस सुवेदी, आशिष बुढाथोकी, सन्देश गुरुङ र विजय पाचकोटी रहेका छन् । कार्यक्रमको सञ्चालन आशा गुरुङले गरेकी थिइन् ।
एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आईडल टप १२ को भोटिङ राउण्ड सुरु भइसकेको छ । नाम्ग्येललाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गइ ०७ टाइप गरी ३७००० मा पठाउनु पर्नेछ ।