कला

बिर्तामोडकी कृपालाई जिताउन अभियान सुरु

By admin

January 26, 2022

बिर्तामोड । रियालिटी सो ‘सारेगमप लिटल च्याम्प’ को टप ५ मा पर्न सफल झापा बिर्तामोडकी कृपा पौडेललाई जिताउन अभियान सुरु गरिएको छ ।

 

बिर्तामोड २ का वार्ड अध्यक्षसमेत रहेका नगेन्द्र संग्रौला कृपा जिताऔं अभियानका अध्यक्ष रहेका छन् । उनले २ देखि २५० बढी संघसंस्थाको अभियानमा साथ र सहयोग रहेको बताए । उनले सामान्य परिवारकी कृपा झापाकी शान मात्र नभएर स्वरकी धनी पनि भएकाले उनलाई जिताउन सबैलाई आग्रह गरेका छन् ।

 

बिर्तामोड २ चारपानेकी १४ वर्षीया बाल गायिका कृपाका बुबा कुमार पौडेलले बुधबार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै छोरीलाई भोट दिएर अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स नेपाल’ को बिजेता बनाउन सबै समक्ष आग्रह गरे ।

 

उक्त रियालिटी सो को अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगीलाई पछि पार्दै टप ५ मा छनौट भएर फाइनल राउण्डमा प्रवेश गरेकी उनलाई भोट गरेर विजेता बनाउन उनका बुबा पौडेलले सबैलाई आग्रह गरेका हुन् । उक्त रियालिटी सो को फाइनल यही माघ २२ गते हुने र कृपालाई २२ गते बेलुका ९ बजेसम्म भोट गर्न सकिने बताइएको छ ।

 

गतवर्ष १३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरी म्युजिक भिडियो समेत निकालेर चर्चा बटुलेकी कृपाले ‘सारेगमप लिटल च्याम्प्स नेपाल’मा पनि सहभागी भएर अब्बल प्रस्तुति दिएर निर्णायक र ग्राण्ड जुरी मेम्बरको वाहवाही पाइरहेकी छिन् ।

 

बिर्तामोडस्थित चारपानेको मोहनमाया माविमा कक्षा ९ मा अध्ययनरत् कृपा बिर्तामोडको सरगम संगीतालय र सप्तक म्युजिक क्लास बिर्तामोडमा संगीत सिक्दै गरेकी छिन् ।

 

कृपाका बुबा पौडेलले भने, ‘कृपाको जीत नै समस्त झापाबासीको जीत भएकाले कृपालाई बढीभन्दा बढी भोट दिएर रियल सारेगमप लिटल च्याम्प्स नेपाल’को विजेता बनाउन सबैलाई आग्रह गरे ।

 

हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको ‘सारेगमप लिटल च्याम्प्स नेपाल’ को विजेता बनाउन मोवाइलको म्यासेज वक्समा गएर एसजीएमपी स्पेस ०९ टाइप गरेर ३३००१मा सेण्ड गर्न बुबा पौडेलले आग्रह गरेका छन् । त्यसैगरी मोमो एप्स डाउनलोड गरेर देश तथा विदेशबाट एकमुस्ट भोट गर्न सकिने उनले उनले बताए ।