कला

सारेगमप विजेता कृपालाई झापा नाटकघरमा नागरिक सम्मान

By admin

February 11, 2022

बिर्तामोड । सारेगमप लिटल च्याम्प्स नेपालकी बिजेता बिर्तामोड २ निवासी कृपा पौडेललाई बिहीबार गृह जिल्ला झापामा भब्य स्वागत सम्मान गरिएको छ ।

 

प्रतियोगितामा सहभागी ३५ हजार प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल कृपा सफलता हात पारेर ६ महिनापछि बिहीबार गृहजिल्ला फर्कने क्रममा भद्रपुर विमानस्थलबाटै उनलाई नौमती बाजागाजासहित सयौको संख्यामा सहभागी जिल्लावासीहरुले स्वागत गरे ।

 

बिर्तामोड १ मा निर्माणाधीन अवस्थामा रहेको प्रदेश नं.१ कै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर परिसरमा पु¥याएर नागरिक सम्मान गरिएको अभियानका सचिव तथा झापा नाटकघर निर्माण कार्यका परिकल्पनाकार, अभियन्ता झापाली युवा रंगकर्मी माधव कल्पितले जानकारी दिए।

 

झापा बिर्तामोडका करिब ३ दर्जनभन्दा बढी सामाजिक संघसंस्थाको सहभागितामा बिर्तामोड वडा नं. २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा कृपा जिताउ समिति नै गठन गरिएको थियो । सोही समितिका संयोजक संग्रौलाको अध्यक्षता तथा राष्ट्रिय कलाकार सीताराम ताजपुरियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा आफूले सम्मान ग्रहण गर्नुपूर्व कृपाले झापा नाटकघरलाई १ धुर जमिन दान बराबरको नगद १ लाख १ हजार समूहका केन्द्रीय अध्यक्ष कल्पित तथा बरिष्ट उपाध्यक्ष हरि भण्डारीलाई प्रदान गरिन् ।

 

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष दिनेश पोखरेलले स्वागत गरेको कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सन्तोष आचार्य, कृपाका बुबा कुमार पौडेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि सिताराम ताजपुरिया, राष्ट्रिय प्रतिभा मेनुका पौडेल र बिजेता कृपा पौडेलको बेजोड प्रस्तुतिले झापा नाटकघर तताउन सफल भएको प्रतिष्ठानकी उपाध्यक्ष सुजना खतिवडाले जानकारी दिइन् ।