अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका लागि गठबन्धनका तर्फबाट मेयर पदका उम्मेद्वार रञ्जिता कार्कीले जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरुलाई नेतृत्वमा नपु¥याएसम्म सामाजिक समावेशीताका सवाल सम्बोधन नहुने बताउँदै आफूलाई जिताएर जनसेवा गर्ने अवसर दिन आग्रह गरेकी छिन् ।
अर्जुनधारा नगरपालिकाका लागि गठबन्धन दलका उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी कार्कीले आफू जीवनभर पार्टी र जनताको सेवामा सक्रिय रहने बताउँदै नगरको विकास र समुन्नतिका लागि स्पष्ट गुरुयोजना लिएर उम्मेद्वार बनेको बताइन् ।
कार्यक्रममा उपमेयरका उम्मेद्वार जितेश योन्जनले गठबन्धन दलको घोषणापत्रमा नगर विकासको दीर्घकालीन गुरुयोजना बनाइएको बताउँदै आर्थिक रुपमा विपन्न वर्गलाई माथि उठाउने कार्यक्रम समेटिएको भनाइ राखे । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरुले जन आन्दोलनको उपलब्धी र संविधानको रक्षाका निमित्त बनेको गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन आम जनसमुदायसमक्ष अपिल गरिन् ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले प्रतिगमनविरुद्ध संघर्षरत राजनीतिक दलहरुले इमान्दारीपूर्वक पार्टीको निर्णयलाई कार्यान्वयन गर्दै गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे ।
प्रतिगमन विरुद्धको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै सचिव हुमागाईले गठबन्धन दलका आधिकारिक उम्मेद्वारका विरुद्ध असहयोग नगर्न सबैमा आग्रह गरे ।
परिचयात्मक कार्यक्रममा जनमुक्तिका नेता कृष्णकुमार थेवेले गठबन्धनमा रहेका कुनै पनि उम्मेद्वार हार्न नहुने बताए । एउटै मात्र उम्मेद्वारले हारे पनि त्यसको सन्देश नराम्रो जाने बताए । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा गठबन्धन दलका संयुक्त निर्वाचन परिचालन समितिका संयोजक दिपक तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य राजकुमार बराइली, नेपाली कांग्रेस अर्जुनधाराका कार्यबाहक सभापति प्रशान्त भण्डारीलगायत गठबन्धन दलका उम्मेद्वारहरुको सहभागिता रहेको थियो ।
गठबन्धन दलको चुनावी प्रचार–प्रसारका लागि बैशाख १४ देखि २४ गतेसम्मको कार्यतालिका बनाइएको छ । जस अनुसार १४ गते वडा नं.१ बाट शुरु गरी क्रमशः सबै वडास्तरमा निर्वाचन प्रचार–प्रसार अभियान सञ्चालन गर्ने कार्यतालिका छ ।
वडा तहमा निर्वाचन प्रचार–प्रसार निरन्तर जारी रहने निर्वाचन परिचालन समितिका संयोजक तामाङले जानकारी दिए । परिचयात्मक भेलाले निर्वाचन स्टेरिङ समिति समेत बनाएको छ ।
समितिको संयोजकमा दिपक तामाङ रहेका छन् ।समितिको सदस्यहरुमा राजकुमार बराईली, प्रशान्त भण्डारी, माओवादीबाट देवकला प्रसाई, सन्तोष थापा, युवराज नेपाल, जनमुक्तिबाट राज खम्बू, दिलीप राई र कृष्ण थेवे रहेका छन् ।