राजनीति

अर्जुनधारामा ४ जना वडाध्यक्षको स्वतन्त्र उम्मेद्वार

By admin

April 28, 2022

शनिश्चरे । आसन्न स्थानीय तह निर्वाचनका लागि अर्जुनधारा नगरपालिकाको विभिन्न वडामा पनि स्वतन्त्ररुपमा उम्मेद्वारी दर्ता भएको छ । केही वडामा सदस्य पदका लागि पनि उम्मेद्वारी दिएका छन् ।

 

उम्मेद्वारी स्वतन्त्र भनिए पनि उनीहरु बागीका रुपमा देखिएका छन् । अर्जुनधारा नगरपालिकाको २, ३ र १० नम्बर वडामा ४ जनाले स्वतन्त्ररुपमा वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालय अर्जुनधाराले जनाएको छ ।

 

कार्यालयका अनुसार अर्जुनधारा वडा नम्बर २ को अध्यक्ष पदका लागि योगप्रसाद आचार्य (योगेन्द्र)ले उम्मेद्वारी दर्ता गरेका छन् । उनी नेकपा एमालेका पुराना नेता हुन् । उनी यसपटक पार्टीको तर्फबाट वडाध्यक्ष पदका लागि आकांक्षी थिए ।

 

तर, पार्टीले आधिकारिकरुपमा तुलसीप्रसाद खतिवडालाई उम्मेद्वारी दिएपछि आचार्यले स्वतन्त्ररुपमा उम्मेद्वारी दिएको बताएका छन् । नगरमै प्रभावशाली नेताका रुपमा हेरिएका आचार्यको उम्मेद्वारीले वडाको निर्वाचनमा प्रभाव पार्ने देखिएको छ । पार्टीका तर्फबाट उनको उम्मेद्वारी फिर्ता गराउने प्रयास भइरहेको बताइएको छ ।

 

यसैगरी, अर्जुनधारा वडा नम्बर ३ मा दुई जनाले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएका छन् । ठाकुरप्रसाद सुवेदी र प्रसादकुमार गुरागाईले वडाध्यक्ष पदका लागि स्वतन्त्रतर्फ उम्मेद्वारी दिएका हुन् ।

 

सुवेदी नेपाली कांग्रेस समर्थक हुन् भने गुरागाई एमालेका पुराना कार्यकर्ता हुन् । नेपाली कांग्रेस अर्जुनधाराले ३ नम्बर वडामा आधिकारिकरुपमा सिताराम भट्टराईलाई वडाध्यक्षको उम्मेद्वारी दिएपछि सुवेदीले स्वतन्त्ररुपमा उम्मेद्वार मनोनयन दर्ता गरेका हुन् ।

 

यस्तै, नेकपा एमालेका तर्फबाट आधिकारिकरुपमा हरिबहादुर वाग्लेले वडाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेका छन् । सोही पदमा गुरागाईले पनि स्वतन्त्र उम्मेद्वारको रुपमा मनोनयन दर्ता गरेका हुन् ।

 

यसैगरी, अर्जुनधारा वडा नम्बर १० मा एक महिलाले वडाध्यक्ष पदका लागि स्वतन्त्ररुपमा उम्मेद्वारी दर्ता गरेकी छन् । नेपाली कांग्रेस समर्थक स्थानीय गान्धारी मिश्रले वडाध्यक्ष पदमा उम्मेद्वारी दिएकी हुन् ।

 

वडाले सर्वसम्मतरुपमा मिश्रलाई वडाध्यक्षको उम्मेद्वार घोषणा गरे पनि गठबन्धनका कारण अर्कै पार्टीका उम्मेद्वारलाई आधिकारिक स्वीकार्दै उम्मेद्वार खडा नगरेपछि मिश्रले स्वतन्त्ररुपमा उम्मेद्वारी दर्ता गरेकी हुन् । उनले पार्टीकाे साधारण सदस्यबाट राजिनामा दिँदै उम्मेद्वारी घाेषणा गरेकी हुन् ।

 

कांग्रेसले गठबन्धनका आधारमा १० नम्बर वडामा उम्मेद्वार खडा गरेन । तर, मिश्रलाई पार्टीभित्रैबाट सर्वसम्मतरुपमा वडाध्यक्षको महिला उम्मेद्वार घोषणा गरेको थियो । उक्त वडामा नेकपा (माओवादी केन्द्र)का नरकुमार तामाङले वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।

 

वडा सदस्य पदमा भने एक जनाले मात्र स्वतन्त्रका तर्फबाट उम्मेद्वारी दिएका छन् । अर्जुनधारा वडा नम्बर ३ मा ओमनाथ घिमिरेले उम्मेद्वारी दिएका हुन् । उनी पहिला नेकपा माओवादी केन्द्रमा रहँदै पछि नेकपा एमालेमा प्रवेश गरेका थिए ।

 

अर्जुनधारा नगरपालिकाको मेयर, उपमेयर र ११ वटा वडाका वडाध्यक्ष तथा सदस्यका लागि ५७ वटा पदमा १९४ जनाले विभिन्न पार्टीबाट उम्मेद्वारी दर्ता गराएका छन् ।

 

यसैबीच, स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ ।