राजनीति

झापामा मतदान केन्द्र बनाइँदै, ५१ मतदानस्थल अतिसंवेदनशील

By admin

May 12, 2022

बिर्तामोड । शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानका लागि झापामा तयारी अन्तिम चरणमा पुगेको छ । झापामा मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम चलिरहेको छ ।

 

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार जिल्लाका दुई सय ८६ मतदानस्थलमा सात सय ५५ मतदान केन्द्र निर्माणको काम प्रारम्भ भएको छ । निर्वाचन प्रमुख नेपालका अनुसार सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेको छ । कतिपय केन्द्र निर्माणको काम मंगलबारबाट र कतिपय बुधबारबाट सुरु भएको हो ।

 

‘सबै मतदान केन्द्रमा सामग्री पुगेको छ । अधिकांश मतदान केन्द्र निर्माण प्रारम्भ भएको छ,’ उनले भने, ‘बिहीबार दिउँसो ३ बजेभित्र सबै मतदान केन्द्र निर्माणको काम सम्पन्न हुन्छ,’ सबै मतदान केन्द्रमा महिला, पुरुष र अपांगता भएका र वृद्धवृद्धाका लागि छुट्टाछुट्टै लाइन निर्माण गरिने उनले बताए ।

 

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार झापामा ५१ वटा मतदानस्थल अतिसंवेदनशील छन् । १५३ मतदानस्थल संवेदनशील र ८२ मतदानस्थल सामान्य प्रकृतिका छन् ।

 

झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । १० प्रतिशत जगेडासहित करिव ७ लाख मतपत्र झापा ल्याइएको छ । मतदान सम्पन्न गर्न ४ हजार ३०९ जना कर्मचारी खटाइएको नेपालले जानकारी दिए । सबै कर्मचारीहरु मतदान केन्द्रमा पुगिसकेका छन् ।