राजनीति

झापामा मापसे गर्नेसहित २ मतदान अधिकृत कारबाहीमा

By admin

May 13, 2022

बिर्तामोड । आज सम्पन्न भएको स्थानीय तहको निर्वाचनका बेला झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका ६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् । उनलाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको थियो ।

 

कमल ६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका कर्णले बिहीबार एक जना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय पत्र उपलब्ध गराएका थिए । सम्बन्धित व्यक्तिले लिन आउनुपर्ने मतदाता परिचय पत्र कर्णले उम्मेदवारलाई नै वितरण गर्न भन्दै उपलब्ध गराएपछि उनलाई कारबाही स्वरुप फिर्ता बोलाएको प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए ।

 

यस्तै मादकपदार्थ सेवन गरी मतदानस्थलमा पुगेको आरोपमा झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत कारबाहीमा परे । झापा ६ सरणामतिस्थित जनता मावि मतदान केन्द्र ‘ग’ का सहायक अधिकृत बस्नेतले मादक पदार्थ सेवन गरेर आएको मतदाताको गुनासो पछि उनलाई मतदानस्थलबाट हटाइएको थियो ।

 

मतदान प्रक्रिया सुरु भएको निक्कै बेरपछि उनले मासपे गरेर आएको खुलेको थियो। बस्नेतले मतदान केन्द्रमा छिरेर काम पनि गरेका थिए।

 

सहायक मतदान अधिकृतले मापसे गरेको गुनासो मतदाताले गरेपछि निष्कासन गरिएको मतदान अधिकृत युवराज नेपालले पनि जानकारी दिए। उनका अनुसार मतदानको प्रक्रिया भने सहायक मतदान अधिकृत बिना नै जारी राखिएको छ।

 

‘मतदानका क्रममा मतदाताले गुनासो गरेपछि सहायक मतदान अधिकृतलाई निष्कासन गरिएको छ,’ नेपालले भने, ‘अर्को व्यक्तिलाई सहायक मतदान अधिकृत तोक्न सक्ने अवस्था नभएपछि भएका कर्मचारीबाटै मतदान प्रक्रियालाई भने जारी राखिएको थियो।’

 

यसैबीच, स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइएको छ ।

 

मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रूपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफल लगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । सबै मतपेटिका संकलनपछि सर्वदलीय बैठक राखेर मुचुल्का गरेपछि राति १० बजेपछि गणना सुरु गरिने भएको छ ।