राजनीति

रौतहटमा स्थानीयले लुटेको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याए

By admin

May 13, 2022

रौतहट । रौतहटको यमुनामाई गाउँपालिका २, भेडीयाही गाउँको मतदान केन्द्रको मतपेटिका स्थानीयले लुटेर लगेका छन् । स्थानीयले मतपेटिका काँधमा राखेर भागे पनि सुरक्षाकमीले रोक्न सकेनन् । फितलो सुरक्षा व्यवस्थाका कारण सुरक्षाकर्मीबीचबाटै मतपेटिका लुटिएको हो । घटनापछि प्रहरी प्रधान कार्यालयले रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

 

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार भेडियाही मतदान केन्द्रमा ३० प्रतिशतमात्र मतदान भएको थियो । ‘स्थानीयले लुटेर लगेको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका छन्,’ उनले भने, ‘सुरक्षा व्यवस्था फितलो होइन । बल प्रयोग गर्नुअघि विवाद मिलाउन छलफल गर्ने भन्दै गर्दा केही व्यक्ति आएर मतपेटिका उठाएर लगे ।’

 

बिहान उत्साहपूर्वक त्यस मतदान केन्द्रमा मतदाताहरु लाइन बसेर मतदान गरेका थिए । दिउँसो समान्य विवाद भएपछि सुरक्षाघेराबाट मतपेटिका लुटिएको हो । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले रौतहटमा मतपेटिका लुटिएको घटनाले आफू दुःखी भएको बताए ।

 

‘मैले पनि मतपेटिका बोकेर भाग्दै गरेको तस्बिर समाजिक सञ्जालमा देखेँ,’ उनले भने, ‘रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोध्छु । यो लापरबाही हो ।’ एसपी घिमिरले शान्ति सुरक्षा सबल बनाउन नसकेको भन्दै कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले आपत्ति जनाएका छन् । उनले आगामी जेठ ३ गतेको सदनमा रौतहटको शान्ति सुरक्षाबारे कुरा उठाउने बताए ।

 

जिल्लाको गढीमाई, फतुवाविजयपुर, मौलापुर, परोहा, वृन्दावन, गुजरा नगरपालिकाका विभिन्न केन्द्र दिनभर तनावपूर्ण अवस्था रह्यो । यी मतदान केन्द्रमा सुरक्षा व्यवस्था निकै फितलो रहेको दलहरुको आरोप छ । सुरक्षाकर्मीले कुनै पनि झडप रोक्न नसकेको स्थानीयको आरोप छ । गुजरा नगरपालिकामा भएको झडपमा प्रहरी मूकदर्शक बनेको स्थानीय शेख अनवारुलले बताए । झडपमा उनका दुई नातेदार घाइते भएका छन् ।

 

बौधिमाई नगरपालिका २ इनरवा टोलमा जसपा र एमालेबीच झडपपछि मतपेटिकामा आगो लगाइएको छ । गरुडा नगरपालिकाको देबाही बुथमा स्थानीयबीच झडप हुँदा सुरक्षाकर्मीले बेवास्ता गरेको स्थानीय रवि जैसवालले बताए । इकान्तिपुरबाट