राजनीति

अर्जुनधारामा बल्ल मतगणना सुरु, १ नम्बरबाट गर्ने सहमति

By admin

May 14, 2022

अर्जुनधारा । अर्जुनधारामा सम्पन्न स्थानीय निर्वाचनको मतगणना भर्खरै सुरु भएको छ । हिजो निर्धारित समयमै सुरक्षित तवरबाट मतदान कार्य सम्पन्न भए पनि मतगणना भने हुन सकेको थिएन ।

 

११ वटै वार्डबाट मतपेटिका ल्याउने क्रममा १० नम्बर वडाको मतपेटिकामा केही त्रुटि भएपछि मतगणना हुन नसकेको हो । मतपेटिका ल्याउने क्रममा वडा नम्बर १० को एउटा मतपेटिकाको एकापट्टिको सिल चुट्टिएको पाइएपछि अन्योल सिर्जना भएको थियो । सोही कारण शुक्रबार रातिदेखि नै हुनुपर्ने मतगणना हुन नसकेको हो ।

 

यसैबीच, आज बिहान नगरपालिकाको कार्यालयमा राजनीतिक दलका प्रतिनिधिबीच भएको बैठकबाट ११ बजेबाट मतगणना गर्ने निधो भए पनि समयमा सुरु हुन सकेन । अर्जुनधाराको निर्वाचन अधिकृतको कार्यालयले औपचारिकरुपमा १२ बजेर ३२ मिनेटमा मतगणना सुरु भएको जानकारी गराएको छ । सोही बैठकले वडा नम्बर १ बाट मतगणना सुरु गर्ने निर्णय लिएको थियो ।

 

अहिले नगरपालिका बाहिर वरपर पार्टी कार्यकर्ता तथा मतदाताहरुको भीड लागेको छ । ५३ हजार ७४५ कुल मतदाता संख्या रहेको यस नगरमा यसपटकको निर्वाचनमा ३८ हजार ५२३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । समग्रमा ७१ दशमलव ६८ मत खसेको छ ।