अर्जुनधारा । गठबन्धनका उम्मेद्वार उपेन्द्र बस्नेत अर्जुनधारा नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदमा विजयी भएका छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका बस्नेतको जीतसँगै अर्जुनधारा नगर क्षेत्रमा नेपाली कांग्रेसले वडाध्यक्षमा खाता खोलेको हो ।
यस वडाको कुल मतदाता संख्या ४ हजार ७४६ रहेकोमा ३ हजार ५८१ मत खसेको थियो । जसमा गठबन्धनका उम्मेद्वार बस्नेतले सर्वाधिक १ हजार ५९४ मत ल्याएर वडाध्यक्ष पदमा विजयी बनेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु ढकालले मात्र १ हजार ४५४ मत ल्याएर पराजित बने ।
यस्तै, राप्रपाका उम्मेद्वार विशाल खड्काले २४१ मत ल्याए । यस वडामा ०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका थिए ।
वडाध्यक्ष पदमा गठबन्धनका उम्मेद्वार विजयी बने पनि बाँकी अन्य परिषद् सदस्यमा भने नेकपा एमालेका उम्मेद्वार विजयी बनेका छन् । यस्तै, यस वडाबाट मेयर र उपमेयर पदमा पनि एमालेका उम्मेद्वारलाई नै बढी मत मिलेको छ ।