राजनीति

अर्जुनधारामा ३ घण्टापछि मतगणना पुनः सुचारु

By admin

May 15, 2022

अर्जुनधारा । स्थानीय तह निर्वाचनमा अर्जुनधारा वडा नम्बर २ को मतगणना जारी रहँदा करिब ३ घण्टा राेकिएपछि पुनः सुचारु भएको छ । उक्त वडाको ६ सय मत परिणाम घोषणा भएपछि मतगणना कार्य रोकिएको थियो ।

 

अहिले ३ स्थानमा मतगणना कार्य भइरहेकोमा राजनीतिक दलका प्रतिनिधिले यसलाई अन्य स्थानमा पनि बढाइनुपर्नेमा सुझाव पेश गरेका थिए । यस्तै, मतगणनामा खटाइएका कर्मचारी अपूग भएको भन्दै थप कर्मचारी परिचालन गर्नुपर्ने माग पनि उनीहरुले राखेपछि सर्वसहमतिपछि केही समय मतगणना कार्य स्थगित गरिएको थियो ।

 

उक्त सुझाव तथा मागपछि पुनर्विचार गर्ने आश्वासनपछि अहिले बाँकी मतगणनाको कार्य अघि बढेको निर्वाचन अधिकृतको कार्यालय अर्जुनधाराले जनाएको छ । केही समयभित्रै अर्जुनधारा २ नम्बर वडाको ९ सय मतको परिणाम सार्वजनिक गरिने भएको छ ।

 

६ सय मतको परिणामअनुसार गठबन्धनमा वडाध्यक्षका उम्मेद्वार नरेन्द्र श्रेष्ठ (सिद्धार्थ)ले २९८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेद्वार तुलसी खतिवडाले २२३ मत पाएका छन् । यस्तै, राप्रपाका उम्मेद्वारले २५ मत प्राप्त गरेका छन् । यस वडामा ३ हजार ८१ मत झरेको थियो ।

 

तर, मेयर र उपमेयर पदमा भने एमालेका उम्मेद्वारले २ नम्बर वडामा पनि अग्रता लिएका छन् । जसमा एमालेका उम्मेद्वार बलदेव गोम्देनले हालसम्म २ हजार ६८ मत पाउँदा गठबन्धनकी उम्मेद्वार रञ्जिता कार्कीले १ हजार ५८६ मत पाएकी छन् ।

 

उपमेयर पदकी एमालेकी उम्मेद्वार खड्गमाया पराजुलीले १ हजार ९५१ मत पाउँदा गठबन्धनका उम्मेद्वार जितेश योञ्जनले १०७२ मतमात्र पाएका छन् ।

 

यसअघि १ नम्बर वडाको अध्यक्षमा गठबन्धनका उम्मेद्वार उपेन्द्र बस्नेत निर्वाचित भइसकेका छन् । यस वडाका अन्य चार सदस्यमा भने नेकपा एमालेका उम्मेद्वार विजयी बने ।