राजनीति

झापाको गौरीगञ्जमा खसेको भन्दा बढी मत भेटिएपछि विवाद

By admin

May 16, 2022

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिकाको मतगणनामा विवाद भएको छ । खसेको मतभन्दा एक सय ७३ मत बढी देखिएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिले मतगणनामा आशंका व्यक्त गरेका छन् ।

 

गौरीगञ्ज वडा नम्बर १ को मतगणना जारी छ । उक्त वडामा तीन हजार ८ सय ८ मत खसेको मुचुल्कामा उल्लेख छ । तर, सोमबार बिहान सम्पन्न वडाको मतगणनामा मत संख्या ३ हजार ९ सय ८१ पुगेको भन्दै कांग्रेसका प्रतिनिधिले धाँधली भएको भन्दै विरोध जनाएका हुन् । विवादबीच मतदान अधिकृतको कार्यालयले सोमबार बिहान ३ हजार ८ सय ४ मतको अन्तिम मत परिणाम सार्वजनिक गरेको थियो ।

 

सार्वजनिक मत परिणाम अनुसार वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेस र एमालेका उम्मेदवारको मत संख्या बराबर १ हजार १ सय ८१ भएको जनाएको छ । कांग्रेसले भने आफ्ना प्रतिनिधिले हस्ताक्षर नै नगरेको मत परिणाम स्वीकार नगर्ने भन्दै विरोध जनाएको छ ।

 

गौरीगञ्जका निर्वाचन अधिकृत भेषराज कोइरालाले भने कांग्रेसले भनेजस्तो बढी मत नभएको दाबी गरेका छन् । उनले मुचुल्काको डेटा र मत पेटिकाभित्र हुने मत संख्यामा फरक पर्ने कुरा सामान्य भएको बताए ।

 

‘उहाँ (कांग्रेस) प्रतिनिधिले भनेजस्तो बढी मत देखिएको छैन । मतदानका क्रममा महिला–पुरुष भनेर टिपोट गर्ने डेटा र मत पेटिकाभित्र खसेको मत संख्या मिल्दैन । यस्तो समस्या धेरै ठाउँमा देखिन्छ’ उनले भने, ‘ठीक छ, उहाँहरूलाई विश्वास लाग्दैन भने निवेदन दिएर पुनः गणनाको माग गर्न सक्नुहुन्छ । सर्वदलीय, सर्वपक्षीय बैठक बसेर पनि समाधानको उपाय खोज्न सकिन्छ ।’

 

तर, कांग्रेसले पुनः गणना नभई वडा नम्बर १ मा पुनः मतदानको माग राख्दै निवेदन दर्ता गराउन गाउँपालिकाको कार्यालय पुगेको छ । इकान्तिपुरबाट