राजनीति

अर्जुनधारा २ को वडाध्यक्षमा गठबन्धनका नरेन्द्र श्रेष्ठ विजयी

By admin

May 16, 2022

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ को अध्यक्षमा गठबन्धनका उम्मेद्वार नरेन्द्र श्रेष्ठ (सिद्धार्थ) विजयी भएका छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वारी दिएका श्रेष्ठले मात्र यस वडामा गठबन्धनबाट विजय प्राप्त गरे ।

 

पछिल्लो मतगणनाको परिणामअनुसार श्रेष्ठले नेकपा एमालेका उम्मेद्वार तुलसीप्रसाद खतिवडालाई पराजित गरेका हुन् । यस वडामा ३ हजार ८१ मत खसेको थियो । जसमा विजेता श्रेष्ठले १ हजार ५०८ मत ल्याएर एमालेका उम्मेद्वार खतिवडालाई पछि पारे । खतिवडाले मात्र १ हजार २२६ मत पाए ।

 

वडाध्यक्ष पदमा कांग्रेसका श्रेष्ठ निर्वाचित भए पनि परिषद् सदस्यमा भने एमालेका चारै जना निर्वाचित भएका छन् । जसमा बलबहादुर समाल मगर १ हजार १०४, महिला सदस्यमा शर्मिला सुब्बा १ हजार १४९ र दलित महिला सदस्यमा विमला रोक्का १ हजार २७६ मतसहित निर्वाचित भए । अर्का सदस्य प्रेमबहादुर उपरकोटी गोलाप्रथाबाट चुनिए ।

 

परिषद् सदस्यमा गठबन्धनका उम्मेद्वार बद्रीनारायण गुरागाई र नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका उपरकोटीले समान १ हजार ४८ मत ल्याएका थिए । अन्ततः गोला प्रथाबाट एमालेका उपरकोटी विजयी बनेको निर्वाचन अधिकृतको कार्यालय अर्जुनधाराले जनाएको छ ।

 

यसअघि अर्जुनधारा १ को वडाध्यक्षमा गठबन्धनका लागि नेपाली कांग्रेसका उम्मेद्वार उपेन्द्र बस्नेत विजयी भएका थिए । त्यस वडाको सदस्यमा भने नेकपा एमालेका चारै जनाले विजय हासिल गरे ।