राजनीति

मेचीनगरको मेयर/उपमेयरमा एमाले विजयी

By admin

May 24, 2022

काँकडभिट्टा । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा कांग्रेस पराजित भएको छ । एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत पाएर विजयी बन्दा कांग्रेस उम्मेदवार इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मतमात्र पाए ।

 

शर्माको वडा नम्बर ९ मा पनि कांग्रेस पराजित भयो । कांग्रेस उम्मेदवार उद्धव बानियाँलाई एमालेका कन्चन तामाङले हराए । तामाङले ३ हजार १८ मत पाउँदा बानियाँले १ हजार ८५९ मत पाए ।

 

झापाका ८ नगरपालिका र ७ गाउँपालिकामध्ये भद्रपुर र दमकबाहेक ६ नगर र बाह्रदशी गाउँपालिका एमालेले जितेको छ।

 

२०७४ को निर्वाचनमा गुमाएको विरासतलाई यसपटक फर्काएको हो । उपप्रमुखमा एमालेकी मीना उप्रेती पुनः दोहोरिएकी छन्। उनले २१ हजार ५९० मत पाउँदा गठवन्धनका माओवादी उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत पाए । राप्रपाकी सविना बजगाई तेस्रो भइन्। उनले ९ हजार ८८० मत पाइन् ।

 

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्य २० हजार ७७६ मत ल्याएर विजयी भएका थिए । यसपटक भने कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण पनि पराजय भोग्नु परेको अनुमान एक कांग्रेस नेताको भनाई छ । ‘टिकट वितरणदेखि नै झमेला भयो’, ती नेताले भने, ‘जसको फाइदा एमालेले सहजै उठायो ।’

 

कांग्रेसको प्रदेश समितिले कृष्ण सिटौला पक्षधर केशवराज पाण्डेलाई उम्मेदवारका लागि सिफारिस गरे पनि मनोनयन दर्ताको अघिल्लो रात उनको टिकट खोसेर महामन्त्री विश्वप्रकाश शर्मानिकट बुढाथोकीलाई दिइएको थियो । जसका कारण सिटौला खेमा शर्मासँग असन्तुष्ट थियो । ‘सिटौला खेमाले बुढाथोकीलाई असहयोग गरेको अनुमान पार्टीको छ’, एक नगरस्तरीय नेताले भने ।

 

एमालेले नगरका ११ वडा जितेको छ । कांग्रेसले ३ र माओवादीले एक वडा जितेको छ । इकान्तिपुरबाट