राजनीति

बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क पढाउने निर्णय

By admin

June 03, 2022

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ का विधार्थीलाई निशुल्क पढाउने निर्णय गरेको छ । शुक्रबार बसेको पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईले जानकारी दिए ।

 

बाह्रदशीमा १६ वटा सामुदायिक विधालय रहेका छन् । त्यसमध्ये ३ वटा विधालयमा कक्षा ११ र १२ कक्षाको पठनपाठन भइरहेको छ । वडा नम्बर ३ को पशुपति मावि, वडा नम्बर ५ को फुलवारी मावि र वडा नम्बर ७ को गौरीशंकर माविमा ११-१२ पढाई हुने गरेको छ ।

 

यस्तै, कार्यपालिका बैठकले ५ वटा उपसमिति गठन गरेको छ । मनबहादुर राजवंशीको संयोजकत्वमा आर्थिक विकास समिति, पञ्चानन राजवंशीको संयोजकत्वमा सामाजिक विकास समिति, लक्ष्मी निरौला अधिकारीको संयोजकत्वमा भौतिक पूर्वाधार समिति गठन गरिएकाे छ ।

 

यसैगरी, महताव आलमको संयोजकत्वमा वन वातावरण तथा विपद् व्यवस्थापन समिति र तारादेवी थपलियाको संयोजकत्वमा क्षमता विकास समिति गठन गरिएको प्रशासन शाखा प्रमुख तेजु रेग्मीले जानकारी दिए ।

 

सोही बैठकमा यसअघि पाँच वर्ष जनताको सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका जनप्रतिनिधिहरुलाई धन्यवादसहित सम्मान गरिएको छ । यस्तै, निर्वाचन सम्पन्न गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने निर्वाचन अधिकृत पुस्कलराज प्रसाईलाई समेत सम्मान गरिएको रेग्मीले जानकारी दिएका छन् ।