सूचना प्रविधि

आज दिउँसो-राति मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

By admin

June 04, 2022

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (शनिबार) बिहान प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ।

 

प्रदेश १ र मधेश प्रदेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। देशका बाँकी प्रदेशमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

शनिबार दिउँसो भने प्रदेश १, मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेभएको छ। बाँकी भूभागमा भने आंशिक बदली रहनेछ। साथै प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

शनिबार राति भने प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ। साथै बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

 

साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।