बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा आइतबार सार्वजनिक बिदा नहुने भएको छ । आज सम्पन्न बिर्तामोडको कार्यपालिका बैठकले असार १ गतेदेखि लागु हुने गरी साविक बमोजिमकै विदा र समय लागु गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारले जेठ १ गतेदेखि लागु हुने गरी आइतबारलाई समेत सार्वजनिक विदा दिने निर्णय बमोजिम कार्यान्वयन शुरु गरिएको थियो । सो विदाका सन्दर्भमा स्थानीय नगरबासी, शैक्षिक संस्थाको माग बमोजिम आइतबारको विदा नगर्ने निर्णय गरिएको नगरप्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिइन् ।
यस्तै, कार्यपालिका बैठकले बिर्तामोड ३ मा बिर्ताबजार कृषि तथा सामुदायिक भवन निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको छ । बिर्तामोड नगरपालिकाद्वारा निर्माण गरिएको टहरा भत्काएर नयाँ भवन निर्माणको लागि व्यवसायीलाई टहरा खाली गरिदिन आग्रह गरेको थियो ।
नगरपालिकाको आग्रह अनुसार व्यवसायीले वडा नम्बर ३ का वडाध्यक्षसहित जनप्रतिनिधिहरुसँग छलफल गरेर २६ गते बिहीवारसम्म टहरा खाली गरिदिने प्रतिवद्धता जनाएका थिए । कार्यपालिकाको निर्णय बमोजिम जेठ २७ देखि टहरा भत्काउने र नयाँ भवन निर्माण शुरु गर्न ठेकेदारलाई अनुरोध गर्ने बताइएको छ ।
टहरा खाली गरेपछि व्यवसायीलाई तत्कालका लागि व्यवस्थान गर्न महेन्द्र माविको बाहिरको कम्पाउण्डको भाग प्रयोग गर्नका लागि विधालयसँग आग्रह गर्ने निर्णय गरिएको छ । टहरा निर्माणपश्चात व्यवसायीले स्वतः विधालयको ठाउँ खाली गर्नुपर्ने छ ।