राजनीति

भुटानी शरणार्थी नेता डा भम्पा राईको निधन

By admin

June 19, 2022

बिर्तामोड । भुटानी शरणाथी नेता डा।भम्पा राईको निधन भएको छ । ७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

 

पाँच दिन अघि हर्नियाको शल्यक्रिया गरेका राईको शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएको थियो । तत्काल दमकस्थित लाइफालाइन अस्पताल भर्ना गरिए पनि चिकित्सकहरुले त्यहाँबाट विराटनगर रिफर गरेका थिए । उपचारकै क्रममा उनको बिहान निधन भएको राईकी भाञ्जी गौरी राईले पुष्टि गरिन् । राईको स्वास्थ्यमा समस्या देखिएपछि दमकबासी चिकित्सक डा बेदनिधी खतिवडाले शनिबार अपराह्न विराटनगर अस्पताल पुऱ्याएका थिए ।

 

तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राई दमकमा एक्लै बस्दै आएका थिए । दुई वर्षअघि पत्नि उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका हुन् । राई पेट सम्बन्धी गम्भीर रोगबाट पीडित थिए । तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा महिनौं दिनसम्म थलिएका उनको तीन वटा शल्याक्रिया गरिएको थियो ।

 

पेटको शल्यक्रियापछि राई पछिल्लो एक वर्ष हर्नियाबाटसमेत पीडित थिए । निकै दुस्ख दिन थालेपछि पाँच दिनअघि गत मंगलबार दमकस्थित लाइफलाइन अस्पतालमा उनले हर्नियाको समेत शल्यक्रिया गराएका थिए ।

 

राईको पार्थिव शरीरको आइतबार नै किरात संस्कारअनुसार दमक नजिकैको पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको जंगलमा अत्येष्टि गरिने जनाइएको छ ।

 

२९ वर्षदेखि दमक ८ स्थित खगेन्द्र गुरागाईंको घरमा डेरा बस्दै आएका राईलाई दमक नगरपालिकाले निस्शुल्क आवासको व्यवस्था गरिदिएको थियो । दमक ५ स्थित खेम भण्डारीको घरको भुइँ तलामा तीन वटा कोठा र किचनसहितको फ्ल्याटको व्यवस्था गरिएको थियो । उक्त फ्ल्याटमा राई गत जेठ १३ देखि बस्न थालेका थिए ।

 

भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेट्दा उनी आफ्नै इच्छाले नेपाल आएका थिए । ३० वर्षअघि शरणार्थी हैसियतमा झापा आउँदा राईले श्रीमतीसँगै बुबाआमालाई पनि साथै ल्याएका थिए । आमा विष्णुमायाको ०५४ र बुबा आइतराजको ०६४ सालमा निधन भएको थियो ।

 

निःसन्तान राईका लागि कुनै बेला एक लाखभन्दा बढी भुटानी शरणार्थीको गास, बास र आवासको व्यवस्थापनका लागि नेपाल सरकार तथा दातृ निकायको सहयोगका लागि पहल गरेका थिए । इकान्तिपुरबाट