सूचना प्रविधि

आज प्रदेश १ मा दिनभरि नै झरी

By admin

June 24, 2022

झापा । अहिले प्रदेश १ का धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । काठमाण्डौसहित वाग्मती प्रदेशमा पनि पानी परिरहेको छ ।

 

वाग्मती, गण्डकी प्रदेशमा केही घण्टापछि पानी पर्न रोकिने र बेलुकीपख फेरि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तर, प्रदेश १ मा भने पानी रोकिने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार प्रदेश १ मा आज दिनभरि नै झरी पर्ने अनुमान छ । आज वाग्मती र प्रदेश १ सहित गण्डकी र लुम्बिनीका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् भट्टराईले जानकारी दिनुभयो ।

 

यी प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । आज सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना छ ।

 

सुदूरपश्चिम प्रदेशमा मनसुनी प्रणाली सक्रिय हुन लागेको छ । यसकै कारण त्यहाँ आजभन्दा भोलि अझ धेरै पानी पर्ने मौसमविद्को भनाइ छ ।