अर्थ बजार

अर्जुनधारामा किसानका लागि २४ लाखको कृषि औजार हस्तान्तरण

By admin

June 29, 2022

शनिश्चरे । १५औँ राष्ट्रय धान दिवसको अवसर पारेर स्थानीय किसानलाई लक्षित गरी झापाको अर्जुनधारामा २४ लाख मूल्यबराबरको कृषि औजार, धानको बीउ, मलखाद तथा विषादी हस्तान्तरण गरिएको छ । अर्जुनधारा नगरपालिकाको कृषि विकास शाखाको नगरस्तरीय कार्यक्रमअन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

 

अर्जुनधारा नगरपालिकाको कृषि विकास शाखा र अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाको साझेदारीबाट उक्त कृषि औजारलगायतका सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो । कृषि विकास शाखा र नगर विकास सहकारीको समान १२-१२ लाखको साझेदारीमा कृषि सामग्री गरिएको सहकारीका अध्यक्ष प्रत्युष रानामगरले जानकारी दिए । उक्त सामग्री एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले हस्तन्तरण गरे ।

 

नगरपालिकाको तर्फबाट अर्जुनधारा नगर विकास सहकारीलाई औजार हस्तान्तरण गरिएको हो । अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत अर्जुनधारा ५ मा रहेको धान पकेट विकास क्षेत्रका किसानलाई उक्त सामग्री उपलब्ध गराइने भएको छ ।

 

कृषि औजारमा थ्रेसर, ग्रेडर, रोटामेटा १-१ थान, डिजिटल काँटा ११ थान, कृटानी पिसानी मेसिन १० थान, स्प्रे ट्यांकी ५ थान, त्रिपाल ३४ थान, मकै छोड्याउने मेसिन ८ थान, बोरा सिलाउने मेसिन, मोइस्चर मिटर र झार गोड्ने मेसिन २-२ थान रहेको छ ।

 

यस्तै, धानको बीउ १ हजार ५ सय केजी, जिंक २ सय केजी, कम्पोस्ट मल २ सय बोरा, बाली संरक्षक विषादि एक लाखबराबरको र पानी पट्याउने होस पाइप २ सय केजी हस्तान्तरण गरिएको कृषि विकास शाखाले जनाएको छ ।

 

धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनामा सहयोग भन्ने नाराका साथ आयोजित कार्यक्रममा नगरकी उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, आर्थिक विकास समितिकी संयोजक गोरीमाया चिमरिया, ५ नम्बर वडाध्यक्ष गीताराज खड्कालगायतको उपस्थिति रहेको थियो ।

 

सहकारी संस्थाका अध्यक्ष प्रत्युष रानामगरको अध्यक्षता तथा सदस्य रुद्र गिरीको स्वागत रहेको कार्यक्रममा कृषि विकास शाखाका प्रमुख लेनिन समशेर कुँवरले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।